आज पनि श्रम संस्कृति पार्टीको अवरोध
काठमाडौं । श्रम संस्कृति पार्टीले संसद बैठक अवरुद्ध गरेको छ। बैठक सुरु हुनेबित्तिकै उक्त पार्टीका अध्यक्ष हर्कराज राई लगायतका सदस्यहरुले उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले हर्कराज राईलाई बोल्नका लागि समय दिए।
सो समयमा राईले सुकुमबासी व्यवस्थापन, सीमानाका तथा अनेक जनजीविका विषयमा आफूहरूले राखेको प्रश्नको जवाफ दिनुपर्ने माग गरेका थिए। सभामुखले समय दिएपछि पुनः सोही पार्टीबाट अर्का सांसद आरेन राईले बोल्ने समय मागेकोका थिए।
तर पार्टीका तर्फबाट बोल्नका लागि एक जनालाई समय दिइसकेकाले अर्कोलाई दिन नसिकने जानकारी गराए। माइक नदिइकनै उनले आफ्ना कुरा राखे अनि संसद अगाडि बढ्यो। अहिले संसदको आकस्मिक समयमा सांसदहरुले आफ्ना भनाइ राखिरहेका छन्।
श्रम संस्कृति पार्टीले प्रधानमन्त्री वालेन्द्र शाह नीति तथा कार्यक्रम राष्ट्रपतिले वाचन गरिरहँदा उठेर गएको त्यसको जवाफ दिन नआएपछि त्यसको विरोधमा संसदमा पर्चासहित विरोध गर्दै आइरहेको छ।
व्यवहार सच्याउन सभामुखको चेतावनी
सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका सांसदहरूलाई आफ्नो व्यवहार सच्याउन चेतावनी दिएका छन् । संसद्को मर्यादा विपरीत सदनमा प्लेकार्ड देखाएर विरोध गरेपछि प्रतिनिधि सभा नियमावली को नियम ३० बमोजिम आफ्नो क्रियाकलाप र व्यवहार सच्याउन चेतावनी दिएका हुन् । त्यसको जवाफमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले नियमावलीको नियम १५ को नियम पालना गराउनु भयो भनेर प्रश्न गरे ।
