विश्वकप लिग–२: नेपाललाई जित्नै पर्ने दबाब

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज घरेलु टोली नेपाल र स्कटल्याण्डबीच रोमाञ्चक भिडन्त हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो बहुप्रतीक्षित खेल बिहान ९:३० बजेदेखि सुरु हुनेछ।

नेपाल, अमेरिका र स्कटल्याण्ड सम्मिलित यस त्रिकोणात्मक शृङ्खलामा हालसम्म तीन ओटा खेलहरू सम्पन्न भइसकेका छन्। जसमध्ये उत्कृष्ट लयमा देखिएको स्कटल्याण्डले आफ्ना शुरूआती दुवै खेलमा जित दर्ता गरिसकेको छ।

स्कटल्याण्डले शृङ्खलाको पहिलो खेलमा नेपाललाई डकवर्थ लेविस (डीएलएस) नियमका आधारमा २ रनको झिनो अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा पनि अमेरिकामाथि सोही नियमका आधारमा २ रनकै रोमाञ्चक जित निकालेको थियो।

शृङ्खलाको तेस्रो खेल भने नेपाल र अमेरिकाबीच भएको थियो। गत शनिबार सम्पन्न उक्त खेलमा उत्कृष्ट पुनरागमन गर्दै नेपालले अमेरिकालाई ९ विकेटको भारी अन्तरले पराजित गरेको थियो।

आज घरेलु मैदान र दर्शकको साथ पाउने खेलमा नेपाल अघिल्लो हारको बदला लिँदै स्कटल्याण्डलाई पराजित गर्न चाहन्छ, जसले विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुने नेपालको सम्भावनालाई जीवितै राख्नेछ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ को अङ्क तालिकामा नेपाल अहिले निकै दबाबपूर्ण स्थितिमा अर्थात् सातौँ स्थानमा छ। नेपाललाई विश्वकपको ग्लोबल क्वालिफायरमा सिधै छनोट हुनका लागि अब बाँकी रहेका आफ्ना सबै १० वटा खेलहरू जित्नुपर्ने कठिन चुनौती छ।

यस्तै आफ्नो एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाइराख्न पनि नेपाल अङ्क तालिकाको शीर्ष छ स्थानभित्र पर्नु अनिवार्य छ। यही अङ्क गणितीय समीकरणका कारण आजको खेल नेपालका लागि निकै महत्त्वपूर्ण मानिएको छ।

हालको अङ्क तालिकालाई हेर्दा नेपालले २६ खेल खेलिसकेको छ, जसमध्ये ९ खेलमा जित, १५ खेलमा हार र २ खेल अनिर्णित रहँदा २० अङ्कका साथ तालिकाको सातौँ स्थानमा छ।

अर्कोतर्फ आजको प्रतिद्वन्द्वी स्कटल्याण्ड तालिकाको शीर्ष स्थानमा बलियो गरी उभिएको छ। स्कटल्याण्डले ३० खेल खेल्दै १६ मा जित, ८ मा हार र ६ खेल अनिर्णित बन्दा कुल ३८ अङ्क जोडेको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर