अमेरिकामाथि नेपालको शानदार जित
काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत शनिबारको खेलमा नेपालले अमेरिकामाथि शानदार जित निकालेको छ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले अमेरिकालाई नौ विकेटले हराएको हो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले नटआउट शतक बनाउनुभयो । भने अर्का ओपनर आशिफ शेखले अर्धशतक बनाउनुभयो ।
टस जितेर सुरुमा ब्याटिङ गरेको अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले मात्र एक विकेट गुमाएर ३६ ओभर ४ बलमा पूरा गरेको हो । नेपालका लागि भुर्तेलले ११८ बलको सामना गर्दा चार छक्का र १३ चौकाको मद्दतमा नटआउट १२० रन बनाउँदै शतकीय पारी खेल्नुभयो । अर्का ओपनर शेखले ७२ बलको सामना गर्दै ५८ रनको अर्धशतकीय पारी खेल्नुभएको थियो । नेपालका लागि तेस्रो क्रममा ब्याटिङ गर्न आउनुभएका इशान पाण्डेले ३० बलको सामना गरेर २० रन थप्नुभयो ।
