अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध नेपालका ओपनर कुशल भुर्तेल र आशिफ शेखले अर्धशतक पूरा गरेका छन् । यससँग एक दिवसीय खेलमा यी दुई ब्याटरबीच लामो समयपछि शतकीय बढीको साझेदारी पनि भएको छ ।
भुर्तेलले ४५ बलमा ७ चौका र २ छक्का प्रहार गरी अर्धशतक पूरा गरेका छन् । यता आशिफ शेखले ६७ बल खेल्दै ७ चौकाको सहयोगमा अर्धशतक पूरा गरेका छन् । एक दिवसीयमा शेखकको यो १५औं अर्धशतक हो । भुर्तेल भने ६८ रनमा अविजित रहेका छन् ।
अमेरिकाद्वारा नेपालसामु १९६ रनको लक्ष्य प्रस्तुत
स्मित पटेल र शेहान जयसूर्याको अर्धशतकसँगै अमेरिकाले आईसीसी क्रिकेट विश्वकप लिग २ मा नेपाललाई १९६ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको अमेरिकाले ४३.३ ओभरमा सबै विकेट गुमाउँदै १९५ रन बनाएको हो।
अमेरिकाका लागि ओपनर स्मित पटेल र शेहान जयसूर्याले अर्धशतकीय पारी खेले । अमेरिकालाई राम्रो सुरुआत दिलाउने क्रममा पटेलले ८९ बलमा तीन छक्का र आठ चौकाको सहयोगमा ८३ रन बनाए भने जयसूर्याले ५२ बल खेल्दै एक छक्का र पाँच चौकाको सहयोगमा ५० रन बनाए । साथै मिलिन्द कुमारले २८ र हर्मित सिंहले १४ रन बनाए भने अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले चार र सोमपाल कामीले दुई विकेट लिए । साथै सन्दीप लामिछाने र गुलशन झाले एक/एक विकेट लिए ।
नेपाल, अमेरिका र स्कटल्याण्डबीचको जारी शृङ्खलामा हालसम्म दुई खेल सकिएका छन् । दुवै खेलमा स्कटल्याण्ड विजयी भएको छ । पहिलो खेलमा स्कटल्याण्डले नेपाललाई डकवर्थ लिइस नियमका आधारमा दुई रनले पराजित गरेको थियो भने अर्को खेलमा पनि स्कटल्याण्डले अमेरिकालाई सोही नियमका आधारमा दुई रनले नै पराजित गरेको थियो ।
आइसिसी क्रिकेट विश्वकप लिग- २ को अङ्क तालिकामा नेपाल सातौँ स्थानमा छ । नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुन अब बाँकी सबै ११ वटा खेल जित्नुपर्छ भने एकदिवसीय मान्यता जोगाउन शीर्ष छ स्थानमा रहनु आवश्यक छ । त्यसैले आजको खेल नेपालका लागि निकै महत्वपूर्ण छ ।
