गुजरात टाइटन्स इन्डियन प्रिमियर लिगको शीर्षस्थानमा

काठमाडौं । सनराइजर्स हैदराबादविरुद्व ८२ रनको सहज जित निकाल्दै गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को शीर्षस्थानमा उक्लिएको छ । जितसँगै गुजरातले प्लेअफ सम्भावनालाई थप बलियो बनाएको छ ।

अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा हिजोे मंगलबार भएको खेलमा घरेलु टोली  गुजरातले प्रस्तुत गरेको १६९ रनको लक्ष्य पछ्याएको हैदराबाद १४.५ ओभरमा ८६ रनमै समेटियो । हैदराबादका कप्तान प्याट कमिन्सले सर्वाधिक १९ रन बनाए । सलिल अरोराले १६, हेनरिक क्लासेनले १४ तथा इशान किशनले ११ रन जोडे । गुजरातका कगिसो रबाडा र जेसन होल्डरले तीन विकेट लिए । प्रसिद्व कृष्णाले दुई विकेट हात पार्दा मोहम्मद सिराज र राशिद खानको नाममा एक/एक विकेट रह्यो ।

त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको गुजरातले २० ओभरमा पाँच विकेट गुमाएर १६८ रनको योगफल खडा गरेको थियो । गुजरातका ओपनर साइ सुदर्शनले सर्वाधिक ६१ रनको इनिङ खेले । उनले ४४ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । वासिङ्टन सुन्दरले ५० रनको योगदान गरे । उनले ३३ बलमा सात चौका र एक छक्का प्रहार गरे । निशान्त सिन्धुले २२ रन बनाउँदा जेसन होल्डर ११ रनमा अविजित रहे ।

चौथो विकेटका लागि सुदर्शन र सुन्दरबीच ६० रनको साझेदारी भएको थियो । हैदराबादका प्रफुल हिंगे र साकिब हुसेनले समान दुई विकेट लिए । प्याट कमिन्सले एक विकेट हात पारे । लगातार पाँचौँ तथा समग्रमा आठौँ जितसँगै गुजरातले १२ खेलमा १६ अंक जोडेको छ । पराजित हैदराबाद समान खेलबाट १४ अंकका साथ तेस्रो स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर