बार्सिलोनाले जित्यो लालिगाको अर्को उपाधि
काठमाडौं । बार्सिलोनाले २९ औं पटक ला लिगाको उपाधि जितेको छ । प्रतिद्वन्द्वी रियल म्याड्रिडलाई ३–० गोल अन्तरले पराजित गर्दै बार्साले उपाधि जितेको हो । सिजनको तीन खेल बाँकी छँदै बार्सिलोनाले स्पेनिस फुटबलको शीर्ष स्थानमा आफ्नो कब्जा जमाएको हो ।
नोउ क्याम्पमा भएको महत्वपूर्ण खेलमा मार्कस रासफोर्डले नवौं मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै बार्सिलोनालाई शुरूआती अग्रता दिलाएका थिए। त्यसको ९ मिनेटपछि नै डानी ओल्मोको पासमा फेरान टोरेसले दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । खेलको अन्त्यतिर रोबर्ट लेवान्डोव्स्कीले तेस्रो गोल गरेपछि बार्सिलोनाको जित सुनिश्चित भएको थियो ।
उपाधि पक्का गरेपछि बार्सिलोना अहिले दोस्रो स्थानको रियल म्याड्रिडभन्दा १४ अंकले अगाडि छ । यो जितसँगै बार्सिलोनाले घरेलु मैदानमा यस सिजनका सबै १८ खेल जित्ने कीर्तिमान समेत कायम गरेको छ । रियल म्याड्रिडका लागि भने यो खेल निकै चुनौतीपूर्ण रह्यो । स्टार खेलाडी किलियन एमबाप्पे चोटका कारण मैदान बाहिर रहनु र जुड बेलिङ्घमको गोल अफसाइड हुनुले म्याड्रिडलाई थप समस्यामा पारेको थियो । लगातार दुई सिजन उपाधि जितेको बार्सिलोना अब रेकर्ड विजेता रियल म्याड्रिडभन्दा सात उपाधिले मात्र पछाडि छ ।
