काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले आफू र प्रधानमन्त्री बालेन्द्र साह पूर्ण समझदारीका साथ अघि बढिरहेको दाबी गरेका छन् । पार्टीभित्र कुनै समूह र गुट नबनाउन उनले आफ्ना सांसदहरूलाई आग्रह गरे । आज आफ्ना सांसदहरूलाई प्रशिक्षण दिने क्रममा लामिछानेले यो गुट र त्यो गुट भन्ने कुरा सुनेर आफूहरू हाँस्ने गरेको बताए ।
प्रधानमन्त्री बालेन साह र आफूबिच दुरी बढ्दै गएको केही सञ्चारमाध्यमहरूमा आएका उडन्ते सबरमाथि सभापति लामिछानेको टिप्पणी रहेको छ, “कहिलेकाहीँ साथीहरुले बालेन-रवि, रवि-बालेन, म यताको, म उताको भनेको सुन्छौं । हामी यस्ता कुराहरु छलफल गर्ने गर्छौँ । बालेन-रवि, रवि–बालेन भनेको सुनेर प्रधानमन्त्री र म बडो हाँस्छौँ ।”
प्रशिक्षण कार्यक्रममा अभिव्यक्त गरेको रविको भाषण यस्तो छ,
“साथीहरू, पार्टीमा कुनै समूह र गुट छैन । कसैले छ भन्यो भने पनि विश्वास नगर्न आग्रह गर्छु । म त यताको हुँ, उताको हुँ भनेकै कारणले मन्त्री नभएको साथीहरू हुनुहुन्छ । हामी छलफल गरी नै हाल्छौँ । हामी एउटा कार्यकालमा त्यत्तिकै मिलौँ न त भनेर होइन, इतिहास र यो देशको भविष्य सम्झेर सहयात्रामा हिँडेका छौँ । व्यक्तिगत कुरालाई आधार बनाएर हिँडेका छैनौँ । म यताको हो र उताको हो भन्ने बन्द गर्नुस् । यसको कुनै गुञ्जायस नै छैन ।”
“राजनीतिमा मिल्नुपर्ने मान्छेहरू झगडा गरेकाले हामी ७० वर्ष पछि परेका छौँ । मिडियाका साथीहरू अब त यिनीहरू फुट्छन् कि भनेर मुख मिठ्याउनुहुन्छ । बास्ना चल्ला, तर खाना आउँदैन । सर्भिस हुनेवाला छैन । वी आर पोलिटिकल्ली म्याच्योर्ड इनफ (हामी राजनीतिकरूपमा परिपक्व छौँ) । हामी हुर्किसक्या छौँ । यति चैँ हुर्क्या छौँ । तपाईँहरूलाई कसैले म त यताको, उताको भनेर झुक्याइदेला । झुक्यानमा पर्नुभयो भने फेरि अर्को अवसरबाट वञ्चित हुनुहोला । त्यहिँ अल्मलिनुभएको छ भने यु टर्न लिइहाल्नुस् ।”
‘हामी नयाँ छौं तर बेबकुफ छैनौं । हामी देशमा हुर्किँदै गरेका सन्ततिप्रति चिन्तित छौं । हामी देशको लागि अडिग छौं । कहाँ गयो देश भनेर भाष्य बनाउन खोजिएका छन् । हामी ट्र्याकमा ल्याउन खोजिरहेका छौं । हिजो थियो ट्र्याकबाहिर त देश ।’
‘सरकारले सोचेर, विचार गरेर काम गरिरहेको छ । सरकारले गरेको कामदेखेर क्यामेरा, बुम देखेर भाग्नुपर्ने अवस्था छैन । हामीले गरेका काम आम जनताको हितमा छ कि छैन भन्ने हेक्का पाउनुपर्छ । नियमितहरू कानुन निर्माण गर्दैजाँदा कतिपय कुराहरूलाई फास्टट्र्याकमा लैजानुपर्ने हुन्छ । देशलाई समाजलाई हेरेर काम गरेका छ कि छैन भन्ने हेर्ने हो । यो देशलाई घाटा हुने कुनै पनि गरेका छैनौं गर्दैनौं ।’
‘म जीवनी लेख्न हिँडेको होइन इतिहास लेख्न हिँडेको हुँ। मलाई जीवनीमा त्यति रुचि छैन। मैले राजनीतिलाई धेरै ठूलो सपनाको रुपमा अघि सारेको थिएँ । नेताको रुपमा एउटा मान्छे सरकारको कुन तहमा पुग्छ भन्ने ठूलो कुरा होइन । सरकारमा मन्त्रीका रुपमा रहला प्रधानमन्त्रीको रुपमा रहला त्यो ठूलो कुरा होइन । तर मुलुकलाई एउटा कस्तो नेतृत्व दिंदैछौं भन्ने ठूलो कुरा होइन ।’