गुजरातले राजस्थानलाई ७७ रनले हरायो

काठमाडौं ।  इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सले आफ्नो लयलाई कायम राख्दै लगातार चौथो जित हात पारेको छ। शनिबार भएको खेलमा गुजरातले राजस्थान रोयल्सलाई ७७ रनको अन्तरले पराजित गर्‍यो।

जयपुरको सवाई मानसिंह स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरात टाइटन्सले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२९ रनको योगफल खडा गरेको थियो।

गुजरातका लागि कप्तान शुभमन गिलले ४४ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै ६८ रनको अर्धशतकीय पारी खेले। त्यस्तै साई सुदर्शनले पनि ३६ बलमा ६ चौका र २ छक्काको मद्दतले ५५ रन बनाए। राजस्थानका लागि बृजेश शर्माले २ विकेट लिए।

२३० रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले खासै चुनौती दिन सकेन। राजस्थानको टोली १६.३ ओभरमा मात्र १५२ रनमा अलआउट भयो।

टोलीका कुनै पनि ब्याटरले अर्धशतक बनाउन सकेनन्। रवीन्द्र जडेजाले सर्वाधिक ३८ रन बनाए भने युवा ब्याटर वैभव सूर्यवंशीले १६ बलमा ३६ रनको आक्रामक पारी खेले पनि टोलीलाई जिताउन पर्याप्त भएन।

गुजरातको जितमा स्पिनर राशिद खान नायक बने। उनले ४ ओभरमा ३३ रन दिएर ४ महत्त्वपूर्ण विकेट चट्काए। त्यस्तै जेसन होल्डरले ३ विकेट र कगिसो रबाडाले २ विकेट लिए भने मोहम्मद सिराजले १ विकेट हात पारे।

लगातार ११  खेलमा १४ अंकसहित गुजरात अङ्क तालिकामा दोस्रो स्थानमा उक्लिएको छ भने राजस्थानका लागि यो हारले प्लेअफको समीकरणमा दबाब बढाएको छ। १२ अंकसहित राजस्थान अङ्क तालिकामा पाँचौँ स्थानमा झरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर