३० अर्बको रोयल्टी घोटालामा जगदीश खरेल यसो भन्छन्….

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पाटीका सांसद एवम् पूर्वमन्त्री जगदीश खरेलले आफूविरुद्ध नियोजित रूपमा मिडिया ट्रायल गरिएको बताएका छन् । बिहीबार सामाजिक सञ्जालमा लेख्दै उनले केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर भ्रामक समाचार फैलाएको बताएका हुन् ।

हालै ‘स्मार्ट टेलिकमको फाइल सीआईबीले अनुसन्धान गरिरहेको सूचना बाहिरीएपछि तत्कालीन सञ्चारमन्त्री जगदीश खरेल सुटुक्क स्विट्जरल्याण्ड पुगे’ भन्ने समाचार बाहिरीएको थियो । उक्त विषयमा खरेलले आफ्नो बचाउ गर्दै मिडिया ट्रायल भएको बताएका हुन् ।

खरेलले हाल आफू कार्यक्रमको सिलसिलामा स्विट्जरल्याण्डमा रहेको उल्लेख गर्दै कुनै गल्ती नगरेको बताएका छन्।  उनले सत्य अन्ततः बाहिर आउने उल्लेख गर्दै यस्ता भ्रामक, नियोजित तथा कपोलकल्पित प्रहारले आफ्नो चरित्र र राजनीतिक भविष्यमा असर नपार्ने उल्लेख गर्दै आवश्यक परे कानुनी उपचार खोज्ने बताएका छन्।

उनले लेखेका छन्, ‘प्रिय शुभचिन्तकहरु, अहिले ममाथि मिडिया ट्रायल भएको छ । केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा मेरो नाम जोडेर नियोजित रूपमा ‘फेक न्युज’ फैलाइएको छ । कृपया भ्रममा नपर्नु होला । अहिले म कार्यक्रमको सिलसिलामा स्विट्जरल्याण्डमा छु । गल्ती गरेको छैन । त्यसैले अलिकति पनि डर छैन । सोधे हुन्छ, खोजे हुन्छ, तर सत्य सत्य नै हुन्छ । मेरो इमान नै मेरो गन्तव्यको लागि प्रयाप्त छ । यस्ता भ्रामक, नियोजित तथा कपोल्कल्पित प्रहारले मेरो चरित्र र राजनीतिक भविष्यमाथि प्रहार गर्छु भनेर नसोचे हुन्छ । बाँकी कानूनी उपचार खोज्ने छु … ।’

सुशीला कार्की नेतृत्वको चुनावी सरकारमा सूचना तथा सञ्चारमन्त्री हुँदा स्मार्ट टेलिकमको ३० अर्बको रोयल्टीमामिलामा राज्यलाई घाटा पुर्‍याएको खरेलमाथि आरोप लगाइएको छ । खरेलले तीनै आरोपको खण्डन गरेका हुन् । खरेल चुनावको केही दिनअघि मात्रै मन्त्री पदबाट राजीनामा दिएर रास्वपाको टिकटमा लतितपुर क्षेत्र नं. ३ बाट चुनाव लडेर जितेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर