भीम रावल नेकपासँग असन्तुष्ट
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता भीम रावलले सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी अस्वीकार गरेका छन् । नेकपाले रावललाई गृह प्रदेशको इन्चार्जको जिम्मेवारी दिने तयारी गरेको थियो । पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा पूर्वपदाधिकारीहरूको बैठक बसिरहेका बेला रावलले सामाजिक सञ्जालमार्फत जिम्मेवारी अस्वीकार गरेको सार्वजनिक गरेका छन् ।
रावलले आफूसँग परामर्श नै नगरी जिम्मेवारी दिन खोजिएको भन्दै असन्तुष्टि जनाएका छन् । रावलले सबैजसो प्रदेशमा युवालाई इन्चार्जको जिम्मेवारी दिइएकाले सुदूरपश्चिममा पनि त्यसै गर्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
‘नेपाली कम्युनिष्ट पार्टीको कार्यविभाजनअन्तर्गत मलाई सुदूरपश्चिम प्रदेशको इन्चार्ज तोकिएको कुरा मसँग परामर्श विना सार्वजनिक भएकाले सार्वजनिक रूपमै यति भन्नुपर्ने भयो,’ रावलले लेखेका छन्, ‘सबैजसो प्रदेशमा युवा पुस्तालाई इन्चार्जको जिम्मा दिएर सुदूरपश्चिम प्रदेशमा बुढा पुस्तालाई जिम्मेवारी दिनु अलि मिलेन । त्यहाँ पनि युवा पुस्तालाई नै इन्चार्जको जिम्मेवारी दिनु उपयुक्त हुन्छ ।’
