सर्वोच्चको फैसलालाई स्वीकार्ने देउवा पक्षको निष्कर्ष
काठमाडौं । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले कांग्रेसको आधिकारितालाई लिएर सर्वोच्च अदालतले गरेको फैसलालाई स्वीकार्ने निष्कर्ष निकालेको छ।
कार्यवाहक सभापति भन्दै आएका पूर्णबहादुर खड्काले आज शनिबार बोलाएको देउवा पक्षका नेताहरूको बैठकले सर्वोच्चको फैसला स्वीकार्ने निष्कर्ष निकालेको नेता मीनबहादुर विश्वकर्माले सञ्चारकर्मीसँग कुराकानी गर्दै बताए। बैठकपछि विश्वकर्माले भने, ‘फैसला स्वीकार्ने भइयो।’
‘अब उहाँ निवर्तमान कार्यवाहक सभापति हुनुभयो, त्यसलाई स्वीकारेका छौँ,’ उनले भने। ‘त्यसमा हाम्रा पर्याप्त असहमति छन्। तर, स्वतन्त्र न्यायापालिकाले गरेको फैसलालाई नेपाली कांग्रेसले मान्दै आएको छ, यस पटक पनि मान्छ’, विश्वकर्माले भने।
सर्वोच्चको फैसलासँगै कानुनी र वैधानिकताको विषय टुंगिए पनि राजनीतिक विषय बाँकी रहेको उनको भनाइ थियो। अब त्यसलाई कसरी सुल्झाएर कसरी अघि बढ्ने भन्ने सभापति थापामा भर पर्ने विश्वकर्माले बताए।
निर्वाचन आयोगले विशेष महाधिवेशनबाट आएको कार्यसमितिलाई मान्यता दिँदा पनि निवर्तमान सभापति देउवाले पार्टी एकतालाई जोगाइ राख्न प्रतिनिधि सभाको निर्वाचनमा सहभागी हुन लगाएको उनले दावी गरे।
‘अब पार्टीलाई कसरी लैजाने भन्ने हिजो शेरबहादुर देउवाको खुट्टामा बल थियो भने अब त्यो बल सर्वोच्च अदालतले अहिलेका विशेष महाधिवेशनबाट आएका सभापति गगन थापाको खुट्टामा फालिदिएको छ’, उनले भने।
‘अब उहाँले कसरी पार्टीलाई एकताबद्ध बनाउनुहुन्छ, कसरी पार्टीलाई ठूलो बनाउनुहुन्छ, कसरी पार्टीलाई भावनात्मक रुपले सबैको एक स्वरले नेपाली कांग्रेसका पक्षमा आबद्ध हुने वातावरण बनाउनुहुन्छ? त्यो गगन थापाको हातमा छ’, विश्वकर्माले भने।
