रास्वपामा मासिक लेबीको दर तय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठकले पार्टीका प्रमुख सचेतक र सचेतकहरूको जिम्मेवारी बाँडफाँट गरेको छ। पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार संसदीय दलको बैठकले बुर्लाकोटीलाई प्रमुख सचेतकको रूपमा चयन गर्ने प्रस्ताव गरेको छ।
त्यस्तै, सचेतकमा दुई जना सांसदहरू प्रकाशचन्द्र परियार र क्रान्ति शिखा धिताललाई चयन गरिएको छ। बैठकले पार्टीका सांसद र मन्त्रीहरूले बुझाउनुपर्ने मासिक लेबीको दर पनि तय गरेको छ। निर्णयअनुसार रास्वपाका सांसदहरूले मासिक १६ हजार ५ सय रूपैयाँ र मन्त्रीहरूले १८ हजार रूपैयाँ लेबी बुझाउनुपर्नेछ।
यसैगरी, मन्त्रीका स्वकीय सचिवहरूका लागि २ हजार रूपैयाँ लेबी तोकिएको छ। भविष्यमा सांसदका स्वकीय सचिवहरू नियुक्त भएमा उनीहरूले पनि सोही बराबरको लेबी बुझाउनुपर्ने निर्णय बैठकले गरेको महामन्त्री बुर्लाकोटीले जानकारी दिए।
