काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओली आफ्नो चरित्रहत्या गर्ने उद्देश्यले सामाजिक सञ्जालमा सुनियोजित रूपमा भ्रामक सूचना फैलाइएको भन्दै साइबर ब्यूरो पुगेकी छन्। उनले सोमबार नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरो, भोटाहिटी पुगेर दोषीहरूमाथि कारबाहीको माग गर्दै उजुरी दर्ता गराएकी हुन्।
उनले केही व्यक्ति तथा सञ्चार माध्यमहरूले योजनाबद्ध ढंगले आफूविरुद्ध दुष्प्रचार गरिरहेको बताएकी छन्। केही फेसबुक पेज, टिकटक र युट्युब च्यानलहरूले आधारहीन र भ्रामक सामग्री प्रसारण गरी व्यक्तिगत तथा सार्वजनिक जीवनमा क्षति पुर्याउन खोजेको उनको भनाइ छ। प्रारम्भिक चरणमा सचेत गराउँदा पनि दुष्प्रचार नरोकिएपछि बाध्य भएर कानुनी प्रक्रियामा जानुपरेको उनले बताएकी छन्।
सांसद ओलीको सामाजिक सञ्जालमा लेखाइ यस्तो छ:-
“म विरुद्ध सामाजिक सञ्जालमार्फत सुनियोजित रूपमा फैलाइएको दुष्प्रचार, भ्रामक सूचना तथा मेरो चरित्रहत्या गर्ने उद्देश्यले गरिएको गतिविधिविरुद्ध आज मैले नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरो, भोटाहिटीमा उजुरी दर्ता गराएको छु। उक्त उजुरीमा केही व्यक्तिका फेसबुक पेज, टिकटक पेज तथा युट्युब च्यानलहरूले योजनाबद्ध ढंगले आधारहीन, भ्रामक तथा मेरो व्यक्तिगत तथा सार्वजनिक जीवनमा क्षति पुर्याउने उद्देश्यले सामग्री प्रसारण गरेको मेरो ठहर छ। यस विषयमा मैले प्रारम्भिक चरणमै केही सम्बन्धित व्यक्तिहरूलाई सचेत गराउँदै यस्तो गतिविधि रोक्न स्पष्ट भनेको पनि थिएँ। तर, उक्त चेतावनीलाई गम्भीरतापूर्वक नलिई निरन्तर रूपमा दुष्प्रचार जारी राखिएपछि बाध्य भई आज साइबर ब्यूरोमा कानुनी प्रक्रिया अघि बढाएको हुँ। यस्ता गतिविधिहरू सामान्य आलोचना वा अभिव्यक्ति स्वतन्त्रताको दायराभित्र नपर्ने, बरु योजनाबद्ध रूपमा गलत सूचना फैलाउने तथा मेरो व्यक्तिगत र सार्वजनिक छवि धूमिल पार्ने उद्देश्यले गरिएको संगठित प्रयास भएको मेरो ठहर छ। म स्पष्ट रूपमा भन्न चाहन्छु: साइबर दुरुपयोग र दुष्प्रचारविरुद्ध कानुनी राज्यको प्रक्रिया अनुसार आवश्यक सबै कदम म निरन्तर रूपमा अघि बढाउनेछु। अहिलेको समयमा घृणा नै नयाँ “मुद्रा” जस्तो बनाइएको छ, जसले जति धेरै घृणा बेच्न सक्छ, उसले त्यति नै फाइदा उठाइरहेको छ। तर याद राख्नुहोस्, कसैको जीवनमा क्षति पुग्ने गरी घृणा फैलाएर त्यसैबाट लाभ कमाउने प्रवृत्ति केवल अनैतिक मात्र होइन, अत्यन्तै पतित र अस्वीकार्य सोचको परिचायक हो। यस्तो मानसिकता समाजका लागि खतरा हो, र यसलाई कुनै हालतमा सामान्यीकरण गर्न मिल्दैन।”