गृहमन्त्रीले फर्काए हर्कलाई यस्तो जवाफ

काठमाडौं ।  गृहमन्त्री सुधन गुरूङले फेवाताल क्षेत्रको जग्गा प्रकरणबारे श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई जवाफ फर्काएका छन् । अध्यक्ष साम्पाङले आज सामाजिक सञ्जाल फेसबुकमार्फत गृहमन्त्रीसँग जोडिएको फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरी स्पष्ट जानकारी दिन आग्रह गरेका थिए । त्यसको प्रत्युत्तरमा गृहमन्त्री गुरूङले आफ्नो सचिवालयमार्फत लिखित जवाफ सार्वजनिक गरेका हुन् ।

गृहमन्त्री गुरूङले साम्पाङसँग विगतदेखि रहेको आत्मीय सम्बन्ध स्मरण गर्दै सार्वजनिक पदमा रहेकाले नागरिकलाई जवाफ दिनु आफ्नो दायित्व भएको उल्लेख गरेका छन् । उनले करिब ८–१० वर्षअघि आफू लगायत तीन युवा साथीहरूले पोखरा को पर्यटन तथा ग्रामीण विकासलाई लक्षित गर्दै दुर्गम क्षेत्रमा लगानी सुरु गरेको बताएका छन् ।

उनका अनुसार उक्त जग्गा आफ्नै नाममा नभई भाडामा लिएर काम अघि बढाइएको थियो । प्रारम्भमा सो जग्गा ६५ मिटर सीमाभित्र नपर्ने जानकारी दिइएको र लालपुर्जा समेत देखाइएको उनले उल्लेख गरेका छन् । तर पछि नगरपालिकाबाट उक्त जग्गा ६५ मिटर सीमाभित्र पर्ने तथ्य थाहा पाएपछि परियोजना रोक्नुपरेको र लगानी जोखिममा परेको बताएका छन् ।

यस प्रक्रियामा आफूहरू ठगीमा परेको महसुस भए पनि अरूलाई दुःख नदिने उद्देश्यले चुप बसेको उनले स्पष्ट पारेका छन् । अवैध ठहरिएको जग्गामा थप लगानी र भाडा तिर्नु उपयुक्त नदेखिएको भन्दै अब कानुनी उपचार खोज्ने निर्णयमा पुगेको पनि बताएका छन् ।

साथै, गृहमन्त्री गुरूङले यस विषयमा संलग्न पक्षहरू तथा सञ्चारमाध्यमलाई पूर्ण तथ्य नबुझी हतारमा एकतर्फी समाचार प्रकाशन नगर्न आग्रह गरेका छन् । उनले यथार्थमा आधारित र जिम्मेवार ढंगले विषय प्रस्तुत गर्न सबैसँग अनुरोध गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर