गुजरातमाथि राजस्थान रोयल्सको ६ रनको जित
काठमाडौं । राजस्थान रोयल्सले जारी आइपिएलमा लगातार दोस्रो जित हासिल गरेको छ । शनिबार राति सम्पन्न खेलमा राजस्थानले गुजरात टाइटन्सलाई ६ रनले पराजित गरेको हो ।
राजस्थानले दिएको २११ रनको लक्ष्य पछाएको गुजरातले २० ओभरमा ८ विकेट गुमाएर २०४ रन बनाएको थियो । गुजरातका लागि साई सुदर्शनले सर्बाधिक ७३ रन बनाएका थिए भने जोस बटलरले २६, राशिद खानले २४ रन बनाएका थिए ।
त्यस्तै राजस्थानका लागि रवि विश्नोईले ४ विकेट लिएका थिए । यस अघि पहिला ब्याटिंग गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर २१० रन बनाएको थियो । राजस्थानका लागि ध्रुव जुरेलले सर्वाधिक ७५ रन बनाएका थिए भने यशस्वी जैसवालले ५५ र वैभव सूर्यवंशीले ३१ रन बनाएका थिए । यो जितपछि राजस्थान रोयल्सको २ खेलमा ४ अंक भएको छ र शीर्ष स्थानमा उक्लिएको छ । त्यस्तै गुजरातले भने लगातार दोस्रो हार बेहोरेको छ ।
