आईपीएल : हैदराबादको कोलकातामाथि ६५ रनको जित
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत छैटौं खेलमा सनराइजर्स हैदराबाद (एसआरएच)ले कोलकाता नाइट राइडर्स (केकेआर)लाई उसकै घरेलु मैदानमा ६५ रनले पराजित गर्दै सिजनको पहिलो जित हासिल गरेको छ।
हेनरिक क्लासेन (५२ रन), अभिषेक शर्मा (४८ रन) र ट्राभिस हेड (४६ रन)को विस्फोटक ब्याटिङपछि उत्कृष्ट बलिङको प्रदर्शन गर्दै हैदराबादले सहज जित निकाल्यो। बिहीबार ईडेन गार्डेन्समा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर २२६ रन बनायो। जवाफमा कोलकाता १६ ओभरमै १६१ रनमा अलआउट भयो। उसका लागि अंगकृष रघुवंशीले सर्वाधिक ५२ रन बनाए। हैदराबादतर्फ जयदेव उनादकटले ३ विकेट लिए भने ईशान मलिंगा र नीतीश कुमार रेड्डीले २–२ विकेट लिए। हर्ष दुबेले १ विकेट लिए।
रघुवंशीको लगातार दोस्रो अर्धशतक, तर केकेआर पराजित
२२७ रनको लक्ष्य पछ्याएको केकेआरको ब्याटिङ निराशाजनक रह्यो। फिन एलनले कप्तान अजिंक्य रहाणेसँग १.३ ओभरमा ३० रनको साझेदारी गरे। एलनले मात्र ७ बलमा २८ रन बनाए, जसमा २ छक्का र ४ चौका समावेश थिए।
त्यसपछि अंगकृष रघुवंशीले रहाणेसँग दोस्रो विकेटका लागि २१ बलमा ३७ रन जोडे। रहाणेले ८ रन बनाए। रघुवंशीले रिंकू सिंहसँग चौथो विकेटका लागि ४६ रनको साझेदारी गरे।
रिंकूले ३५ रन बनाए भने रघुवंशीले २९ बलमा २ छक्का र ६ चौकासहित ५२ रन बनाए, तर टोलीलाई जित दिलाउन सकेनन्। यो रघुवंशीको लगातार दोस्रो अर्धशतक हो। यसअघि उनले मुम्बईविरुद्धको खेलमा पनि अर्धशतक बनाएका थिए।
हैदराबादको आक्रामक ब्याटिङ
यसअघि सनराइजर्स हैदराबादलाई ट्राभिस हेड र अभिषेक शर्माको ओपनिङ जोडीले उत्कृष्ट सुरुवात दिलायो। दुवैले ५.४ ओभरमा ८२ रन जोडे। हेड २१ बलमा ४६ रन बनाएर आउट भए, जसमा ३ छक्का र ६ चौका समावेश थिए। अभिषेक शर्माले पनि २१ बलमा ४ छक्का र ४ चौकासहित ४८ रन बनाए।
ओपनिङ जोडी टुटेपछि टोलीले लगातार विकेट गुमायो र ९.२ ओभरसम्म स्कोर ११८/४ भयो। त्यसपछि हेनरिक क्लासेनले नितीश रेड्डीसँग पाँचौं विकेटका लागि ५३ बलमा ८२ रनको साझेदारी गर्दै टोलीलाई २०० पार गराए। क्लासेनले ३५ बलमा १ छक्का र ४ चौकासहित ५२ रन बनाए भने नितीश रेड्डीले ३९ रन योगदान दिए।
बलिङतर्फ कोलकाताका ब्लेसिङ मुजरबानीले सर्वाधिक ४ विकेट लिए भने वैभव अरोडाले २ विकेट लिए। कार्तिक त्यागी र अनुकूल रोयले १–१ विकेट लिए।
