यस्तो छ एमाले सचिवालय बैठकको निर्णय

काठमाडौं ।   नेकपा एमालेले आन्दोलनका थप कार्यक्रम तय गरेको छ । मंगलबार बसेको केन्द्रीय सचिवालयको बैठकले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा जिल्ला तहमा भेला गर्नेदेखि काठमाडौँमा गर्ने प्रदर्शनसम्मका कार्यक्रम सार्बजनिक गरेको हो ।

जस अनुसार चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलनकेन्द्रित बृहत भेला गर्ने, चैत २८ गते सबै पालिकामा विरोध प्रदर्शन गर्ने, वैशाख ३ गते वडा तहमा भेला गर्ने, वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन गर्ने, वैशाख १२ गते राजधानीमा विशाल विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । त्यस्तै सरकारद्वारा विद्यार्थी तथा पेशागत संगठनहरूसम्बन्धी गरिएका गतिविधिहरूका विषयसमेत समेटेर सबै जनसंगठनहरूले आआफ्नो ढंगले आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै पार्टीद्वारा घोषित आन्दोलनलाई प्रभावकारी बनाउन सहयोग गर्ने निर्णय समेत गरेको छ ।

साथै, बैठकले बुधबार ११ बजे जनसंगठन संयन्त्रको बैठक पार्टी कार्यालयमा बस्ने निर्णय समेत गरेको महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् । त्यस्तै बैठकले सर्वपक्षीय नागरिक संवादका लागि उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य मीन बहादुर शाहीलाई जिम्मेवारी दिएको छ । साथै संसदभित्र दलहरूसँग सहकार्य र प्रभावकारी प्रस्तुति गर्ने जिम्मेवारी उपाध्यक्ष राम बहादुर थापा बादल र सचिव पद्मा अर्याललाई दिएको छ । त्यस्तै एमालेको संसदीय दलको बैठक बुधबार ३ बजे पार्टी कार्यालयमा बस्ने समेत पोखरेलले जानकारी दिए । त्यस्तै एमालेले आन्दोलनका थप कार्यक्रम तय गर्न तत्कालै पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर