राजस्थानले चेन्नईलाई आठ विकेटले जित्यो
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औँ सिजनमा महेन्द्र सिंह धोनी बिना मैदान उत्रिएको चेन्नई सुपर किंग्स (सीएसके) ले हारबाट सिजनको शुरूआत गरेको छ। सोमबार गुवाहाटीको बरसापारा स्टेडियममा भएको खेलमा राजस्थान रोयल्स (आरआर) ले चेन्नईलाई ८ विकेटले पराजित गर्यो।
टस जितेर पहिले बलिङ रोजेको राजस्थानका बलरहरूले चेन्नईलाई १९.४ ओभरमा मात्र १२७ रनमा अलआउट गरिदिए। जवाफी ब्याटिङमा उत्रिएको राजस्थानले १२.१ ओभरमै मात्र २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
राजस्थानका युवा ब्याटर वैभव सूर्यवंशीले आक्रामक ब्याटिङ गर्दै मात्र १५ बलमा अर्धशतक प्रहार गरे। उनले ५२ रन बनाउने क्रममा ४ चौका र ५ छक्का प्रहार गरेका थिए। बलिङतर्फ राजस्थानका रवीन्द्र जडेजा, जोफ्रा आर्चर र नान्द्रे बर्गरले समान २–२ विकेट लिए। चेन्नईका लागि जेमी ओभरटनले सर्वाधिक ४३ रन बनाए भने बलिङमा अंशुल कम्बोजले २ विकेट लिए।
चेन्नईका पूर्व कप्तान एमएस धोनी चोटका कारण दुई हप्ताका लागि मैदान बाहिर रहेका छन्। त्यस्तै, दक्षिण अफ्रिकी खेलाडी डेवाल्ड ब्रेभिस पनि चोटकै कारण सुरुवाती ३ खेलमा सहभागी हुन पाउने छैनन्। टोलीको कप्तानी ऋतुराज गायकवाडले सम्हालिरहेका छन् भने राजस्थानबाट सन्जु सामसन ओपनिङमा उत्रिएका थिए। यद्यपि, दुवै कप्तानले पहिलो खेलमा मात्र ६–६ रन मात्र बनाउन सके।
