एमाले महाभारतको पाण्डव पक्ष भएको ओलीको कथन

काठमाडौं  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणाम अस्वाभाविक, अपत्यारिलो र जादूमय भएको टिप्पणी गरेका छन् । पार्टी मुख्यालय च्यासलमा ओलीले आफ्नो पार्टी आकारमा सानो भएकोमा चिन्ता नगर्न सांसदहरुलाई सुझाव दिए ।

निर्वाचनमा एमालेविरुद्ध सम्पूर्ण प्रहार केन्द्रित गरिएको ओलीले बताए । रास्वपातर्फ ईंगित गर्दै उनीहरुलाई धेरैतिरको सहयोग भएको टिप्पणीसमेत गरे ।

ओलीले भने, ‘निर्वाचन परिणामबारे धेरै टिप्पणी गर्ने बेला भएको छैन । यो निर्वाचन परिणाम अनपेक्षित, अस्वाभाविक, अपत्यारिलो र जादूमय छ । हाम्रा विरोधीहरुले अथवा हाम्रा उद्देश्यका विरोधीहरुले हाम्राविरुद्ध सम्पूर्ण प्रहार केन्द्रित गरे । उनीहरुलाई धेरैतिरको सहयोग भयो । असभ्य, अश्लील, गालीगलौज र कुप्रचारहरु भए । हाम्रो सभ्य शैलीले त्यसको प्रतिवाद गर्न सकेन । यस्तासँग के प्रतिवाद गर्ने भन्ने हिसाबले चुप लाग्ने प्रवृत्ति बढ्यो । डटेर सामना गर्न सकेनौं । सामाजिक सञ्जालमा हामीले बोल्न लेख्न सकेनौं ।’

ओलीले महाभारतको कथामा कौरव र पाण्डवको प्रसंग सम्झिए । उनले भने, ‘महाभारतमा कौरवको सेना धेरै ठूलो थियो । पाण्डवको सानो थियो । तर नतिजा सत्यको पक्षमा आयो । सत्यको पक्षमा आउँछ । राष्ट्रिय गौरवको झण्डालाई माथि उठाउने काममा हामी लागेका छौं ।’

ओलीले जेनजी आन्दोलनको घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदनमाथि आपत्ति जनाए । ‘हाम्राविरुद्ध हमला जारी छ । कार्की आयोग भन्ने एउटा आयोग बनाइएको थियो । सुरुमै हाम्रो पार्टीको १०औं केन्द्रीय कमिटीले आयोगका पदाधिकारीहरू पहिले नै आफ्ना धारणा व्यक्त गरिसकेका, हाम्रो पार्टीका विरुद्ध विषाक्त आग्रहपूर्ण धारणा व्यक्त गरिसकेका व्यक्तिहरू भएकाहरू हुनाले स्वतन्त्र छानबिन अपेक्षा गर्न सकिँदैन भनेका थियौँ,’ उनले भने, ‘ खास गरी नेकपा एमाले अध्यक्षको बारेमा तत्कालीन प्रधानमन्त्रीको बारेमा फौजदारी अपराध दण्ड संहिताअनुसार छानबिन गर्न र मुद्दा चलाउने सिफारिस गरेको छ । घटनास्थलमा व्यक्ति उपस्थित हुनुपर्छ प्रत्यक्ष संलग्न भएको हुनुपर्छ । अनिमात्रै उसले लापरबाही गर्दा मर्यो भन्ने हुन्छ । जो मान्छे उपस्थित नै छैन लापरबाही भन्ने कुरै हुँदैन ।’

त्यस्तै उनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा धेरै आमाको कोख रित्तिएको भनेर भनिएकोमा पनि आपत्ति जनाए । ‘प्रधानमन्त्रीको यस्ता कुरामा न गोली चलाउने कुरा, न चलाउँछ न आदेश दिन्छ । यसबीचमा मानिसहरू मरेका छन् । कसले जिम्मा लिने ? धेरै आमाको कोख रित्तिएको भनियो । अहिले मान्छे मर्दा आमाको कोख रित्तिएको छ कि छैन ?’ उनको प्रश्न थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर