रास्वपा पार्टी र रास्वपा सरकारबारे गगन थापाको खुलस्त धारणा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीले निर्वाचनमा गरेको प्रतिज्ञा अनुसार नै प्रतिपक्षको भूमिका जिम्मेवार ढंगले निर्वाह गर्ने बताएका छन्। मंगलबार केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उनले मतदाताले सरकार सञ्चालन गर्न मत नदिएपनि प्रतिपक्षको जिम्मेवारी दिएको बताएका हुन्।
उनले भने, ‘हामी नागरिकहरूको बीचमा पाँच वर्ष मतको सम्मान गर्ने प्रतिबद्धता लिएर गएका थियौं । त्यो मतले सरकार सञ्चालन गर्न नदिएपनि प्रतिपक्षको जिम्मेवारी दिएको छ, र हामी त्यस प्रतिज्ञामा बाधिएका छौं।’
उनले सरकारमा हुँदा मात्र होइन, प्रतिपक्षमा हुँदा पनि प्रतिवद्धताबाट पछि हट्न नहुने स्पष्ट पारे । ‘हामी सरकारमा हुँदा मात्र प्रतिज्ञामा बाधिने र नहुँदा नबाधिने भन्ने हुँदैन,’ उनले भने ।
थापाले २०८२ देखि २०८७ सम्मको अवधिमा सुशासन, विकास र सेवा प्रवाहको गति विगतभन्दा चार गुणा बढाउनुपर्ने आवश्यकता औंल्याए। साथै, उनले देशमा कुनै पनि प्रकारको अस्थिरता वा ‘दुर्घटना’ हुन नदिन सबै राजनीतिक शक्तिहरू जिम्मेवार हुनुपर्ने बताए।
‘०८२ देखि ८७ सम्मको पाँच वर्षको अवधिमा नेपालमा सुशासन, विकास, सेवा प्रवाहको गति पहिलाको भन्दा चार गुणा बढी हुनुपर्छ। सँगै गतिमा जानुपर्छ तर दुर्घटना हुनुहुँदैन’, उनले भने।
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार सञ्चालनको जिम्मेवारी पाएको उल्लेख गर्दै उनले सरकारलाई पूर्ण साथ रहने तर आवश्यक ठाउँमा दबाब, प्रोत्साहन र प्रश्नसमेत गर्ने धारणा राखे।
उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले पाँच वर्षको लागि ड्राइविङ सिटमा बस्ने जिम्मेवारी पाएको छ। देशमा सुशासनको सेवा प्रवाहको गतिमा लिएर जाने मुल जिम्मेवारी उहाँहरुले पाउनु भएको छ। यसमा नेपाली कांग्रेस पार्टीको पूर्णरुपमा साथ रहन्छ।’
उनले देशलाई आगामी पाँच वर्ष कुनै पनि प्रकारको ‘दुर्घटना’, द्वन्द्व वा अतिवादमा पर्न नदिन नेपाली कांग्रेसको जिम्मेवारी भएको बताए।
‘देशले पटक पटक दुर्घटना व्यहोरेको छ। हामी जहिले पनि बहुमत प्राप्त गर्छौ कहिलेकाही सजिलो हुन्छ भन्ठान्छौं तर दुर्घटनामा पर्छौं। तर अबको पाँच वर्ष देश कुनैपनि दुर्घटनामा पर्नु हुँदैन। कुनैपनि द्वन्द्वमा पर्नुहुँदैन। कुनैपनि अतिवादमा पर्नु हुँदैन। नेपाली काग्रेसको अर्को भूमिका यो हो,’ उनले भने।
