विज्ञलाई मन्त्री बनाउने बालेनको सोचाइ मात्र, संविधान बाधक ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले कार्यक्षमता र नतिजालाई प्राथमिकता दिँदै विज्ञहरूको मन्त्रीपरिषद (क्याबिनेट) बनाउने विषयमाथि छलफल थालेका छन्। रास्वपाले नयाँ अभ्यासअन्तर्गत गैरसांसदलाई मन्त्री बनाउन चाहेको पार्टीका नेताहरू बताउँछन्।

‘सकेसम्म सांसदलाई मन्त्री नबनाउने र विज्ञलाई बनाउने कि भनेर छलफल भइरहेको छ,’ बालेन निकट सांसद एक भने, ‘हाम्रो भावी प्रधानमन्त्रीले सरकारमा रहेर निष्पक्ष काम गर्नको लागि संसद् बाहिरका सम्बन्धित क्षेत्रका विज्ञ राखेर क्याबिनेट बनाउन पाए डेलिभरी दिन सकिन्छ भन्नुभएको छ, यो हुन्छ कि त्यो हुन्छ कि भनेर छलफलको क्रममा छ।’

‘बाहिरबाट विज्ञहरू क्याबिनेटमा ल्याउँदा सम्बैधानिक अडचनका विषयमा बालेनजी जानकार रहेकाले त्यसमाथि पनि छलफल भइरहेकोछ’,  उनी भन्छन् । रास्वपाले चुनावका लागि तयार पारेको वाचापत्रमा पनि विज्ञ मन्त्री बनाउने उल्लेख गरेको थियो। ‘संघीय मन्त्रालयको संख्या १८ मा सीमित गर्दै विज्ञ मन्त्री र विशेषज्ञतामा आधारित कर्मचारी प्रशासनको नयाँ मानक स्थापना गर्नेछौँ,’ वाचा पत्रको १७ नम्बर बुँदामा भनिएको छ।

रास्वपाका अर्का एक नेता तत्काल विज्ञ मन्त्री बनाउन सम्भव नभएको बताउँछन्। ‘त्यो त संविधान संशोधनपछिको कुरा हो, अहिलेको संविधानले मिल्दै मिल्दैन’, उनले भने, ‘६ महिना बनाएर त्यसपछि के गर्ने?’ यो अवस्थामा यो सोचाइको विषय मात्र हो । कार्यान्वयन गर्न कठिन छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर