निर्वाचनले मुलुक र संविधानको जगेर्ना : गृहमन्त्री अर्याल
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनले मुलुक, मानवता र संविधान जोगाएको बताएका छन् । निर्वाचन निष्पक्ष, शान्तिपूर्ण र विगतको भन्दा निकै गुणस्तरीय भएको दाबी गर्दै उनले यसले राजनीतिक सुशासनको नयाँ मानक स्थापित गरेको बताएका हुन् ।
गृहमन्त्री अर्यालकाअनुसार यदि निर्वाचन हुन नसकेको भए देश, मानवता र संविधान सबै गम्भीर जोखिममा पर्ने अवस्था थियो । यस पटकको निर्वाचनमा रगतको एक थोपा पनि नबगेको उल्लेख गर्दै उनले वर्तमान सरकार गठन भएदेखि नै राजनीतिक हिंसाको अन्त्य भएको दाबी गरे । विगतका निर्वाचनहरूमा धेरै ठाउँमा झडपका कारण मतदान स्थगन गर्नुपर्ने र पुनः चुनाव गराउनुपर्ने बाध्यता रहे पनि यसपटक देशभर एकैचोटी शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको उनले जानकारी दिए ।
उनले भने ‘चुनावले मुलुक जोगाउने, मानवता जोगाउने र संविधान जोगाउने कुराको एउटा प्रत्याभूति दिएको छ । यो चुनाव हुन नसकेको भएदेखि हाम्रो मुलुक, मानवता र संविधान सबै जोखिममा पर्न सक्थ्यो । अब हामीले चुनाव गरेका छौँ र चुनाव पनि निष्पक्ष चुनाव गरेका छौँ । चुनावी सरकारले सुदृढ चुनाव गरोस् भन्ने अपेक्षा थियो । हामीले पहिलाको भन्दा गुणस्तरीय चुनाव गरेका छौँ । सुदृढ चुनाव गरेका छौँ । यहाँहरू सबैलाई थाहा छ यसपालि रगतको एक थोपा पनि बगेको छैन चुनावको क्रममा । र हाम्रो सरकार गठन भएदेखि नै राजनीतिक हिंसाबाट रगतको थोपा पनि बगेको छैन । त्यो प्रत्याभूति दियौँ । चुनावको क्रममा पनि हिंसात्मक झडपहरू हुन पाएनन् एकाध बाहेक र त्यसलाई पनि हामीले रोकथाम गरेर त्यसलाई काबूभित्र राखेर चुनाव गरायौँ, मतदान गरायौँ । पहिला पहिला स्थगन हुन्थ्यो, धेरै सङ्ख्यामा स्थगन हुन्थ्यो । फेरि चुनाव गराउनु पर्थ्यो । अहिले देशभरि नै एकैचोटी मतदान सम्पन्न भएको छ । स्थगन गर्नुपरेको कुरा अवस्था पनि छैन । यो सबै कुरा हामी एउटा राजनीतिक सुशासनको लागि यति अब अब मानकहरू हामीले बढाउनै पर्छ, मानक बढाउनु पर्छ । हाम्रा मानकहरूलाई सुदृढ गर्नुपर्छ ताकि भविष्यमा आउने सरकारले पनि ती मानकहरू भत्काउन नसकोस्, त्यो भन्दा घटी मानक घटाउन नसकोस् ।’
