आईसीसी क्रिकेट विश्वकप लिग–२ को शृंखला अनिश्चित समयका लागि स्थगित
काठमाडौं । नेपालमा आयोजना हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको आगामी शृंखला अनिश्चित समयका लागि स्थगित भएको छ । उक्त शृंखला मार्च १० तारिखदेखि शुरू हुने तय भएको थियो । पछिल्लो समय मध्य–पूर्वमा देखिएको असहज परिस्थितिका कारण शृंखला अर्को सूचना नभएसम्मका लागि रद्द गरिएको बताइएको छ ।
उक्त शृंखलामा नेपालका अतिरिक्त ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) सहभागी हुने तय भएको थियो । लिग–२ अन्तर्गतको यो १८औँ शृंखला हो । लिग–२ शृंखलामा आठ टोली सहभागी छन् । तालिकामा ३६ अंकसहित अमेरिका पहिलो, ३० अंकसहित स्कटल्यान्ड दोस्रो र २८ अंकसहित नेदरल्यान्ड्स तेस्रो स्थानमा छन् ।
यसैगरी, २४ अंकसहित ओमान चौथो, २१ अंकसहित क्यानडा पाँचौँ, १९ अंकसहित नामिबिया छैटौँ, १२ अंकसहित नेपाल सातौँ र १० अंकसहित यूएई आठौँ स्थानमा छन् । सहभागी टोलीहरूका लागि आईसीसी क्रिकेट विश्व कप लिग–२ प्रतियोगिता निकै महत्वपूर्ण छ । यो प्रतियोगिता सन् २०२७ मा आयोजना हुने आईसीसी एक दिवसीय विश्वकपका लागि छनोटको आधारका रूपमा पनि रहेको छ ।
सन् २०२७ को एक दिवसीय विश्वकप दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियामा संयुक्त रूपमा आयोजना हुँदैछ । लिग–२ प्रतियोगिताको समाप्तिपछि अंक तालिकाको माथिल्लो चार स्थानमा रहने राष्ट्र सिधै सन् २०२७ को एकदिवसीय विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछन् ।
लिग–२ तालिकाको अन्तिम चार स्थानमा रहने राष्ट्रले भने विश्वकप क्वालिफायरका लागि प्ले–अफ चरण खेल्नु पर्नेछ । यसका अतिरिक्त, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट सन् २०१८ मा प्राप्त एकदिवसीय मान्यता जोगाउन पनि यो प्रतियोगिताको महत्त्वपूर्ण भूमिका रहन्छ ।
हाल आईसीसीबाट अस्थायी रूपमा एकदिवसीय मान्यता पाएका नेपालसहितका एसोसिएट्स सदस्य राष्ट्रको उक्त मान्यता सन् २०२६ को विश्वकप छनोटसम्म कायम रहने छ । यो सूचीमा स्कटल्यान्ड, यूएई, नेदरल्यान्ड्स, नामिबिया, ओमान, अमेरिका र क्यानडा पनि रहेका छन् ।
