चुनावमा कसैसँग तालमेल नभएको नेकपा र एमालेको प्रस्टीकरण
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले चितवन–३ मा रेनु दाहाललाई जिताउनका लागि कुनै पहल नगरिएको बताएका छन् । केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार आयोजित पत्रकार सम्मेलन उनले रेनुलाई जिताउन लागेको हल्लालाई खारेज गरे ।
‘चितवन–३ मा रेनु दाहाललाई जिताउन लागेको कुरा बिल्कुल सही होइन । त्यस्तो आरोपको म खारेज गर्न चाहन्छु । मैले कुनै पनि वक्तव्य जारी गरेको छैन । तालमेलको लागि कुनै पहल गरेको पनि छैन । यद्यपि रेनुले ९ वर्ष गरेको मेहनतको आधारमा चुनाव जित्नुपर्छ भन्ने मलाई लाग्छ । त्यसो भएन भने ममाथि र रेनुमाथि नै अन्याय हुन्छ जस्तो लाग्छ’, उनले भने ।
यसैबिच नेपाली कम्युनिस्ट पार्टी झापा ५ का उम्मेदवार रञ्जित तामाङले कसैसँग चुनावी तालमेलको सम्भावना नरहेको बताएका छन्। सामाजिक सञ्जालमा अफवाह फैलाइएको भन्दै आफूले पार्टी नेतृत्वसँग कुरा गरेको बताए।
उनले भने, ‘कहिले टिकट प्राप्त गर्दैन, कहिले अलायन्स हुन्छ, कहिले कसलाई छोड्छ, कहिले कसलाई छोड्छ भन्ने अनेकौँ आरोहरअवरोह र अनुमानहरूलाई गलत साबित गर्दै म तपाईँहरूसँग सार्वजनिक बहस हुँदै मतदाताहरूको घरदैलोसम्म आइपुगेको छु। कुनै पनि हिसाबमा हाम्रो पार्टीको नेतृत्वले र कुनै पनि मूल्यमा अहिले कोहीसँग हाम्रो अलायन्स हुने स्थिति छैन। र घोषित-अघोषित त्यस्तो कुनै छलफल चलेको छैन।’
यसैबिच नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेसम्म निर्वाचनमा अन्य दलसँग चुनावी तालमेलको विषयमा छलफल नभएको बताएको छ । दाङ निर्वाचन क्षेत्र २ को उम्मेदवारसमेत रहेका पोखरेलले पुराना दलबिच केही स्थानमा चुनावी तालमेल हुनसक्ने चर्चा चलिरहेकैबेला अहिलेसम्म त्यस्तो कुनै निष्कर्षमा पुगिनसकेको बताएको हो ।
चुनावी संकल्प पत्र सार्वजनिक कार्यक्रममा उनले सामाजिक सञ्जालदेखि बजारमा आएको हल्लाजस्तो अहिलेसम्म त्यस्तो कुनै छलफल, निस्कर्ष नभएको बताए । “अहिले सामाजिक सञ्जालदेखि सञ्चार माध्यममा विभिन्नखालका समाचार आइरहका छन’, उनले भने, “अहिलेसम्म ती खबर सत्य होइन, दलहरुले समेत बोलेका छैनन् ।”
अहिले सबै दलले आफ्नो चुनावी केन्द्रीत प्रचारमा रहेकाले यसमा अहिलेसम्म छलफल नभएका महासचिव पोखरेललको दाबी छ । जबसम्म दलहरू आफै बोल्दैनन्, तबसम्म यी कुरा बाहिर आउन उचित ठान्दैन, उनले भने, “अहिलेसम्म हामी चुनावी तालमेलबारे हामी कुनै निष्कर्षमा पुगेका छैनौँ ।”
विभिन्न सञ्चार माध्यमहरुमा प्रमुख दलहरुको क्षेत्रमा चुनावी तालमेल हुँदै भन्न खबर आइरहेका छन् । विशेषगरी चितवन, झापा र दाङलगायतको क्षेत्रमा एमाले र नेकपाविच तालमेल भन्ने चर्चा भइरहको छ।
