आइसीसी टी-२० विश्वकप : इङ्ल्याण्ड सेमिफाइनलमा

काठमाडौं ।  आइसीसी टी-२० विश्वकपको सुपर-८ अन्तर्गतको निर्णायक खेलमा पाकिस्तानलाई २ विकेटले पराजित गर्दै इङ्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ। श्रीलङ्काको पालेकेले स्टेडियममा भएको रोमान्चक भिडन्तमा इङ्ल्याण्डले कठिन लक्ष्य पछ्याउँदै अन्तिम ओभरमा जित सुनिश्चित गरेको हो।

इङ्ल्याण्डको जितको मुख्य नायक कप्तान ह्यारी ब्रुक बने। ओपनरद्वय फिल साल्ट र जोश बट्लर सस्तैमा पेभेलियन फर्किएपछि दबाबमा आएको टोलीलाई सम्हाल्दै ब्रुकले शतकीय पारी खेले। उनले मात्र ५१ बलमा १० चौका र ४ छक्काको मद्दतले १०० रन बनाए। अन्य ब्याटरहरूमा विल ज्याक्सले २८ र साम करनले १६ रनको योगदान दिए। जोफ्रा आर्चर ५ र लियम डसन १ रनमा अविजित रहे।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६४ रन बनाएको थियो। १६५ रनको लक्ष्य रक्षा गर्ने क्रममा पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले घातक बलिङ गर्दै ४ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। मोहम्मद नवाज र उस्मान तारिकले समान २-२ विकेट लिए।

सुपर-८ मा लगातार दुई खेल जित्दै ४ अङ्क जोडेको इङ्ल्याण्ड अन्तिम चारमा पुग्ने निश्चित भएको हो। इङ्ल्याण्डको यो जितसँगै पाकिस्तानको विश्वकप यात्रा भने थप कठिन बनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर