भक्तपुर–२ मा गठबन्धनभन्दा बढी मतसहित काँग्रेसको ऐतिहासिक जित हुन्छ : राणा

भक्तपुर । भक्तपुर क्षेत्र नं–२ मा चुनावी माहोल तातिँदै जाँदा नेपाली काँग्रेसका उम्मेदवार कबिर राणाले आफू गठबन्धनले अघिल्लो निर्वाचनमा पाएको मतभन्दा बढी मतसहित विजयी हुने ठोकुवा गरेका छन्।

रफत सञ्चार क्लबद्वारा आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्दै राणाले भक्तपुर–२ काँग्रेसको परम्परागत गढ रहेको स्मरण गराउँदै यसपटकको निर्वाचनमा “इतिहास दोहोरिने मात्र होइन, नयाँ कीर्तिमान बन्ने” दाबी गरे।

उनका अनुसार विगतमा गठबन्धनका कारण काँग्रेसका धेरै मतदाताले खुला रूपमा आफ्नो पार्टीलाई मत हाल्न नपाएको अवस्था थियो। तर यसपटक आफ्नै उम्मेदवार मैदानमा रहेकाले काँग्रेस समर्थकहरू पूर्ण रूपमा सक्रिय भएको उनले बताए। “यो पटक काँग्रेसको मत काँग्रेसकै बाकसमा खस्नेछ,” राणाको विश्वास छ।

भक्तपुर–२ मा हालसम्म भएका सात निर्वाचनमध्ये चार पटक काँग्रेसले विजय हासिल गरिसकेको तथ्य प्रस्तुत गर्दै उनले यस क्षेत्रको ऐतिहासिक आधार अझै बलियो रहेको जिकिर गरे। देशव्यापी रूपमा काँग्रेसप्रति बढ्दो समर्थनले पनि आफ्नो जित सुनिश्चित भएको उनको भनाइ छ।

३६ वर्ष लामो पत्रकारिता यात्रासँगै राजनीतिमा निरन्तर सक्रिय रहँदै आएका राणाले आफूलाई “अनुभव र नयाँ सोचको संयोजन”का रूपमा प्रस्तुत गरेका छन्। नयाँ अनुहारका रूपमा मतदातासँग प्रत्यक्ष संवाद बढाएको उल्लेख गर्दै उनले स्पष्ट शब्दमा भने, “भक्तपुर–२ मा मेरो जितमा कुनै शंका छैन, काँग्रेस पहिलो शक्ति बन्नेछ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर