आगामी निर्वाचन ‘देश बनाउने र देश जलाउने’ शक्तिबीचको लडाइँ : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन रोक्ने र बिथोल्ने प्रयासहरू भइरहेको भन्दै आपत्ति जनाएका छन् । झापामा आज आयोजित चुनावी सभामा ओलीले आगामी निर्वाचनलाई ‘देश बनाउने र देश जलाउने’ शक्तिहरूबीचको लडाइँको रूपमा लिनुपर्ने बताए ।
‘अहिले पनि निर्वाचन रोक्ने प्रयास भइरहेका छन्, तर हामी नअल्मिकन विजयको तयारीमा लाग्छौं’, उनले भने, विपक्षी दलहरूले एमालेको झण्डा जलाउने र अवाञ्छित क्रियाकलाप गरेर निर्वाचनको वातावरण बिगार्न खोजेको र एमालेको झण्डाको अपमान गर्नु निर्वाचनविरुद्धको अपराध हो ।’
आफूमाथि भइरहेका प्रहारहरूको जवाफ दिँदै अध्यक्ष ओलीले देशको माया गरेको र भ्रष्टाचार नगरेकै कारण आफू निशानामा परेको बताए । ‘मैले ६० वर्षको राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार गरिनँ र गर्ने पनि छैन’, उनले दृढता व्यक्त गर्दै भने, ‘मिचिएको भू-भाग फिर्ता ल्याउन थालेको र उत्तरतर्फका नाकाहरू खोलेका कारण ममाथि प्रहार भइरहेको छ ।’
उनले नेपाललाई जात, धर्म र भूगोलका नाममा विभाजित गर्न खोज्ने तत्वहरूविरुद्ध आफू ढाल बनेर उभिएको बताए । एमाले कसैको कठपुतली नभएको र देशको एक इन्च जमिन पनि तलमाथि हुन नदिने उनको भनाइ थियो ।
