एमालेको आरोप रास्वपाले झण्डा जलायो, रास्वपाले भन्यो जलाएका छैनौं

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको तुल्सीपुरमा आफ्नो चुनाव चिह्न सूर्य अङ्कित झण्डा जलाएको घटनाको निन्दा गरेको छ ।

एमालेका केन्द्रीय प्रचार संयोजक मीनबहादुर शाहीले विज्ञप्ति जारी गर्दै देश जलाउनेहरुले नै झण्डा जलाएको बताउदै अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अपाच्य शब्दसहित नाराबाजी तथा महासचिव शंकर पोखरेलको गृहनगरमै रास्वपाका कार्यकर्ताबाट गरिएको व्यबहारले  झण्डामा आगो लगाउनेहरू उनै देश जलाउनेहरू हुन् भन्ने यो घटनाले पुष्टि गरेको बताएका छन् ।

उनले भनेका भन्छन्- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङ तुल्सीपुरमा नेकपा (एमाले) को चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाएको घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । लाखौ जनतामा लोकप्रिय हाम्रो पार्टीको आस्थामा चोट पुऱ्याउने गरी ‘सूर्य’ चिन्ह अंकित झण्डामा आगो लगाउनेहरू उनै देश जलाउनेहरू हुन् भन्ने यो घटनाले पुष्टि गरेको छ । र, यो अराजकता, उद्दण्डता र अपराधिक घटनाको नेकपा (एमाले) घोर भर्त्सना गर्दछ ।’

विज्ञप्तिमा भनिएको छ- ‘एमाले अनुशासित पार्टी भएकाले यो घटनाबाट उत्तेजित भएको छैन । यद्यपि हाम्रो संयमता, धैर्य हामी कमजोर भएर होइन । एमाले कानुनी शासनको सम्मान गर्ने भएकाले झण्डा जलाउने रास्वपाका कार्यकर्ताहरूलाई तत्काल पहिचान गरी कानुनी दायरामा लिई कारवाही गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन चाहन्छ । अतः सरकार भयरहित, निष्पक्ष र निर्भिक ढंगले मतदातालाई मतदान गर्ने अधिकारलाई सुरक्षित गर्न सकिरहेको छैन भन्ने हाम्रो तर्कलाई यस घटनाले पुष्टि त गर्दैन ? भन्ने प्रश्न उब्जिएको छ ।’

रास्वपाले झण्डा जलाएका छैनौं

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एमालेको झण्डा आफूहरुले नजलाएको जनाएको छ । उसले एमालेको झण्डा जलाइएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग समेत गरेको छ । रास्वपा सभापति रवि लामिछानेले भने एमालेको आरोपको खण्डन गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर