दाङको चुनावी सभाबाट किन पछि हट्यो रास्वपा ?
काठमाडौं । देशभर प्रतिनिधिसभाको चुनावी सरगर्मी बढ्दै गएको बेला प्रतिस्पर्धी पार्टीका समर्थकहरूबिच पनि प्रतिशोधको भावना वृद्धि भएको पाइएको छ । यस्तै प्रतिशोधको राजनीतिअन्तर्गत हिजो दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमालेबिच तिक्तता देखिएको छ । गए राति रास्वपाका केही समर्थकहरूले नेकपा एमालेको झण्डा जलाएको र एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक नाराबाजी लगाएका थिए ।
आज शुक्रबार रास्वपाले दाङमा आफ्नो चुनावस् सभा राखेका थिए । चुनावी सभाको तयारीको बिचमा रास्वपा केन्द्रीय कमाण्डले आजको सभा स्थगित गर्न प्रदेश कमिटीलाई निर्देशन जारी गरेका छन् । रास्वपा रुपन्देही ३ का चुनावी कमाण्डर नारायणप्रसाद भण्डारीले पार्टी केन्द्रबाट चुनावी सभा स्थगित गर्न निर्देशन आएको बताए ।
संगठनात्मक प्राथमिकता निर्धारण तथा रणनीतिक व्यवस्थापन लगायतका विशेष कारणले हाललाई चुनावी सभा स्थगित गर्नुपरेको पार्टी केन्द्रीय कार्यालयले प्रदेश समितिलाई पठाएको पत्रमा उल्लेख छ । हिजो रातिको घटनालाई लिएर एमालेका कार्यकर्ता आक्रोशित र सम्भावित झडपलाई लिएर रास्वपा केन्द्रीय कमाण्डले चुनावी सभा स्थगित गरेको अनुमान गरिएको छ ।
यसैगरी रास्वपाले रुपन्देहीको भैरहवा र कास्कीको पोखरामा गर्ने भनिएको चुनावी सभा स्थगन गरेको छ । पार्टी उपसभापति डोल प्रसाद अर्यालले पत्र लेख्दै फागुन ९ गते भैरहवामा र फागुन १० गते पोखरामा गर्ने भनिएको परिवर्तन उदघोष सभा स्थगन गर्ने निर्णय भएको पत्र पठाएका हुन् ।
पत्रमा भनिएको छ- प्रतिनिधि सभा सदस्यको निर्वाचन २०८२ को तयारीको क्रममा परिवर्तन उद्धघोष सभा गर्ने भनिएकोमा संगठनात्मक प्राथमिकता निर्धारण तथा रणनैतिक व्यवस्थापन लगाएतका विषेश कारण उक्त कार्यक्रम हालका लागि स्थगन गर्ने निर्णय गरिएको व्यहोरा जानकारी गराउदछु । यस निर्णयबाट यहाँहरूमा पर्न सक्ने असुविधाप्रति हार्दिक क्षमायाचना व्यक्त गर्दै यहाँहरूको साथ, सहयोग तथा सहकार्यको अपेक्षा गर्दछु ।’
झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन : अनेरास्ववियु
नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा जलाएर लोकतान्त्रिक मूल्य-मान्यता, राजनीतिक सहिष्णुता र सामाजिक सद्भावमा आघात पुर्याएको बताएको छ ।
अनेरास्ववियुका अध्यक्ष दीपक धामीले विज्ञप्ति जारी गर्दै राजनीतिक मतभिन्नता लोकतन्त्रको स्वाभाविक विशेषता भए पनि फरक आस्था र विचारप्रति असहिष्णुता प्रदर्शन गर्दै अरुको आस्थामा आक्रमण गर्नु लोकतान्त्रिक संस्कार विपरीत भएको बताएका छन् ।
‘सरकार मौन बस्ने वा अराजकतालाई प्रश्रय दिने कार्य गरेमा अनेरास्ववियु सशक्त आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनी दिन चाहन्छ’, धामीले भनेका छन् ।
