आईसीसी पुरुष टी–२० विश्वकप : सुपर–८ का खेलहरु फेब्रुअरी २१ देखि सुरु हुने

काठमाडौं । भारत र श्रीलंकाको सह–आयोजनामा फेब्रुअरी ७ देखि मार्च ८ सम्म चलिरहेको आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को समूह चरण लगभग सकिन लाग्दा सुपर–८ मा पुग्ने आठै टोलीको टुंगो लागिसकेको छ ।

समूह चरणका केही खेल बाँकी रहे पनि अंक तालिका र नेट रन रेटको आधारमा चार समूहबाट दुई–दुई टोली छानिएका हुन् । यो टुर्नामेन्टले अप्रत्याशित नतिजा, दबदबा, भावनात्मक क्षण र सहयोगी राष्ट्रहरूको लडाइँले क्रिकेटप्रेमीहरूलाई रोमाञ्चित बनाएको थियो । सुपर–८ का खेलहरु अब फेब्रुअरी २१ देखि सुरु हुँदैछ । फाइनल खेल भने मार्च ८ का दिन हुनेछ ।

समूह ‘ए’ मा भारत, पाकिस्तान, अमेरिका, नेदरल्यान्ड्स र नामिबिया थिए । भारतले चारै खेल जित्दै ८ अंक र +३.०५० को शानदार नेट रन रेटसहित शीर्ष स्थानमा रह्यो । पाकिस्तानले भारतबाहेकका सबैलाई हराउँदै ६ अंक जोड्यो । अमेरिकाले २ जित हासिल गर्दा नेदरल्यान्ड्सले १ खेल जित्दा नामिबिया भने जितविहिन घर फर्कियो । यो समूहबाट भारत र पाकिस्तान सुपर–८ मा प्रवेश गरेका छन् ।

यसैगरी समूह ‘बी’ बाट श्रीलंका र जिम्बाब्वेले सुपर–८ को टिकट काटे । श्रीलंकाले ६ अंक जोड्दै शीर्ष स्थान हासिल ग¥यो भने जिम्बाब्वेले ५ अंकसहित दोस्रो स्थानमा रह्यो । यो समूहबाट पूर्व च्याम्पियन अस्ट्रेलिया मात्र २ अंकका साथ प्रतियोगिताबाटै बाहिरियो ।

त्यस्तै समूह ‘सी’ बाट वेस्ट इन्डिज र इंग्ल्यान्डले टिकट काट्दा नेपालले अन्तिम खेलमा सान्त्वना जित निकालेको छ । वेस्ट इन्डिज र इंग्ल्यान्डले ६–६ अंकसहित सुपर–८ मा स्थान बनाए । अर्कोतर्फ नेपालको यात्रा भने प्रतियोगिताभर चुनौतीपूर्ण रह्यो । इंग्ल्यान्डसँग ४ रनको हार, इटालीसँग १० र वेस्ट इन्डिजसँग ९ विकेटको हारले नेपाललाई खेलमा फर्कने मौका नै मिलेन ।

तर फेब्रुअरी १८ का दिन मुम्बईको वानखडे स्टेडियममा स्कटल्यान्डमाथि ७ विकेटको जितले १२ वर्षपछि नेपालले टी–२० विश्वकपमा इतिहास रचेको थियो । समूह ‘डी’तर्फ दक्षिण अफ्रिका र न्यूजिल्यान्डले सुपर ८ मा स्थान बनाउँदा अघिललो संस्करणमा सेमिफाइनलसम्म स्थान बनाएको अफगानिस्तान समूहचरणमै रोकिएको छ । अब सुपर–८ का खेलहरु फेब्रुअरी २१ देखि सुरु हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर