ऐरी र सोमपालको उत्कृष्ट प्रदर्शनमा नेपालको जित

काठमाडौं ।  टी-२० विश्वकप २०२६ को आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्याण्डलाई सात विकेटले पराजित गरेको छ । मंगलवार राति सम्पन्न खेलमा नेपालका अलराउण्डर दीपेन्द्र सिंह ऐरीले अविजित अर्धशतक प्रहार गर्दै मुम्बईमा रोमाञ्चक लक्ष्य पछ्याउने क्रममा नेपाललाई ऐतिहासिक जीत दिलाएका हुन् ।

सोमपाल कामीले बलिङमा प्रेरणादायी प्रदर्शन गरेपछि ऐरीले २३ बलमा अविजित ५० रन बनाएर नेपाललाई सात विकेटको जीत दिलाए । नेपालले १२ वर्षपछि टी–२० विश्वकपमा तेस्रो जीत दर्ता गर्यो र २०२६ को अभियान गौरवपूर्ण रूपमा समाप्त गर्यो ।

स्कटल्याण्डले ८० रनको ओपनिङ साझेदारी गर्दै राम्रो सुरुआत गरेको थियो । माइकल जोन्स उत्कृष्ट लयमा देखिएका थिए । तर इनिङ्सको दोस्रो भागमा कामीको दुई विकेटले खेलको दिशा परिवर्तन गर्यो र स्कटल्यान्ड क्रमशः दवावमा पर्यो ।

जवाफमा नेपालले पनि ७४–० को राम्रो सुरुआत गर्यो । तर माइकल लिस्कले लगातार तीन विकेट लिएपछि नेपाल ९८–३ को स्थितिमा पुग्यो । १४ ओभरपछि ३६ बलमा ७१ रन आवश्यक थियो ।

त्यसपछि दीपेन्द्र सिंह ऐरी मैदानमा आए । उनले चार चौका र तीन छक्का प्रहार गरे । गुल्सन झासँग चौथो विकेटका लागि अविजित साझेदारी गर्दै स्कटल्याण्डको आशा तोडे । झा १७ बलमा २४ रनमा अविजित रहे र विजयी रन प्रहार गरे । यस जीतले अघिल्ला दुई विश्वकपमा बंगलादेश, दक्षिण अफ्रिका तथा इङ्ग्ल्याण्ड विरुद्धको नजिकका हारहरूको पीडा केही हदसम्म कम गर्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर