पूर्वराजा समर्थकहरूमाथि प्रतिबन्ध, त्रिभुवन विमानस्थल निषेधित क्षेत्र
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र त्यस आसपासका क्षेत्रमा एक महिनासम्म कुनै पनि प्रकारका प्रदर्शन, धर्ना, जुलुस तथा भेला गर्न नपाइने आदेश जारी गरेको छ।
राजसंस्था पुनःस्थापना पक्षधर विभिन्न दल तथा संघ संस्थाहरुले पूर्वराजा ज्ञानेन्द्र शाहलाई झापाबाट फर्कने क्रममा स्वागतका लागि तयारी गरिरहेको बेलामा जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन विमानस्थल क्षेत्र निषेधित घोषणा गरेको हो । पूर्वराजा आउँदो फागुन १ गते झापाबाट काठमाडौं फर्कन लागेका छन् ।
प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचना अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम मिति २०८२ माघ २९ गतेदेखि लागू हुने गरी विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटदेखि विमानस्थल परिसरभित्रका सम्पूर्ण सडक, आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल क्षेत्र, पार्किङ क्षेत्रलगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाताभित्रका सबै क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई कुनै पनि विरोधका कार्यक्रम गर्न रोक लगाइएको हो।
अन्तर्राष्ट्रिय विमानस्थलजस्तो अति संवेदनशील क्षेत्रमा भेला, प्रदर्शन वा विरोध कार्यक्रम हुँदा सुरक्षा चुनौती, सार्वजनिक सेवा प्रवाहमा अवरोध, यातायात अव्यवस्था तथा सम्भावित तोडफोड र आगजनीजस्ता गतिविधि हुन सक्ने जोखिमलाई मध्यनजर गरिएको जारी सूचनामा उल्लेख छ।

