आईसीसी टी-२० विश्वकप २०२६ : आज नेपालको इटालीसँग प्रतिस्पर्धा रोमाञ्चक हुने

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आज नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो दोस्रो खेलमा इटलीको सामना गर्दैछ । मुम्बईस्थित ऐतिहासिक वाङ्खेडे स्टेडियममा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ ।

समूह ‘सी’ मा रहेका दुवै टोली आज मैदान उत्रिँदा प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछन् । यसअघि सम्पन्न आ-आफ्नो पहिलो खेलमा नेपाल टेस्ट राष्ट्र इंग्ल्यान्डसँग र इटली अर्को एसोसियट राष्ट्र स्कटल्यान्डसँग पराजित भएका थिए ।

नेपाल र इटली झण्डै १३ वर्षपछि क्रिकेटको मैदानमा आमनेसामने हुन लागेका हुन् । यसअघि सन् २०१३ मा आईसीसी डिभिजन ३ अन्तर्गत यी दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो । तर, त्यो ५० ओभरको खेल थियो । टी-२० अन्तर्राष्ट्रियको इतिहासमा भने नेपाल र इटली पहिलोपटक भिड्न लागेका हुन् । १३ वर्षपछि भेट हुँदा फर्म्याट र टोलीको संरचना बदलिए पनि प्रतिस्पर्धा भने निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर