अब कसैले पनि पार्टी सभापति, महामन्त्रीको घर धाउनु नपर्ने : थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अब कांग्रसभित्र गुट र भागबण्डाको अवस्था समाप्त भएको बताका छन् । काठमाडौं–४ मा शनिबार आयोजित चुनावी कार्यक्रममा सभापति थापाले कांग्रेसभित्र गुटबन्दी र ६०–४० को भागबण्डा अवस्था समाप्त भएको धारणा व्यक्त गरेका हुन् ।
‘अब कांग्रेसभित्र न गुट छ, न भागबण्डा’, थापाले भने, ‘पार्टीभित्र र बाहिर सबैलाई समान व्यवहार हुन्छ । पार्टी सभापतिको अँध्यारो कोठामा कसैसँग पनि अप्राकृतिक सम्झौता हुँदैन।’ कांग्रेसले केवल चुनाव जित्ने मात्र नभई नयाँ प्रतिबद्धतासहित देश सम्हाल्ने क्षमता राख्ने पनि उनले बताए ।
थापाले अब नेता–कार्यकर्ताले बदलिएको कांग्रेसको सन्देश घरघरमा पुर्याउन आग्रह गर्दै सभापति थापाले अब कांग्रेस पुरानो होइन, जिम्मेवार, समावेशी र जोड्ने राजनीति गर्ने नयाँ युगको कांग्रेस भएको उल्लेख गरे । पार्टीका स्थानीय नेताहरूले रोक्दा–रोक्दै पनि आफूले जोखिम उठाएको बताउँदै थापाले देशको नेतृत्व गर्ने हो भने मधेसलाई र मधेशका मुद्दालाई बुझ्नुपर्ने र आफ्नै मुद्दा बनाउनुपर्ने भन्दै त्यसैका लागि आफू मधेश झरेको बताए ।
‘काठमाडौं छाडेर गयो भनेर नभन्दिनु होला, त्यसो भनिदिँदा मलाई दुख्छ’, भन्दै भावुक बनेका थापाले काठमाडौंका नेता–कार्यकर्ता र स्थानीय समुदायसँगको सम्बन्ध निर्वाचनले नटुट्ने बताए । आफू तोड्ने राजनीतिमा नभई जोड्ने राजनीतिमा विश्वास गर्ने र उत्तेजना नभई चेतनाको राजनीति गर्ने पनि उनले बताए ।
थापाले प्रदेश र स्थानीय निर्वाचन भन्दा पहिला नै कांग्रेसको नियमित महाधिवेशन भइसक्ने बताए । उनले नेपाली कांग्रेसको नयाँ अधिवेशनले पार्टीमा निर्वाचनको टिकट तल्लो तहबाट बाँड्ने कामको थालनी हुने जिकिर गरे । उनले प्रदेशको टिकटका लागि अब कसैले पनि पार्टी सभापति, महामन्त्रीको घर धाउनु नपर्ने बताए ।
