आधिकारिकता गुमाएको देउवा गूटले अब के गर्दै छ ?
काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक शनिबार बिहान बस्ने भएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनमा केन्द्रीय कार्य समितिको बैठक शनिबार बिहान पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।
उक्त बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले जानकारी गराए । नेपाली कांग्रेसको देउवा समूह निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी र राजनीतिक संघर्षको मैदानमा निस्कने भएको छ।
पुस २७ देखि ३० मा सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले शुक्रबार वैधानिक मान्यता दिएपछि राति बसेको देउवा समूहका शीर्षनेताको बैठकले संघर्षमा उत्रिने निष्कर्ष निकालेको हो।
शुक्रबार राति देउवा निवास महारागञ्जमा बसेको नेता कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, बालकृष्ण खाण, एनपी साउद, प्रकाशशरण महत, दीपक खड्कालगायतको बैठकले देशभर आन्दोलनका कार्यक्रम घोषण गरेर जाने निष्कर्ष निकालेको एक नेताले जानकारी दिए।
उनले भने, ‘आज हामीले कानुनी र राजनीतिक संघर्ष गर्ने निष्कर्ष निकालेका छौँ। शनिबार केन्द्रीय कार्यसमितिको बैठकले संघर्षका कार्यक्रम घोषण गर्छ। शनिबारदेखि नै सडकमा उत्रिन्छौँ। आइतबार अदालत पनि जान्छौँ। सभापति देउवाको आदेश यही छ।’
निर्वाचन आयोगले थापालाई वैधानिकता दिएर आफूहरूलाई अफ्ठ्यारो पार्ने काम गरेको भन्दै आगामी फागुन २१ को निर्वाचन हुन नदिने रणनीति देउवा पक्षले बनाएको छ। ती नेताले भने, ‘पार्टी देशी विदेशी शक्तिको षड्यन्त्रको शिकार भयो। सरकारले गगन थापाहरूलाई वैधता दिन निर्वाचन आयोगका आयुक्तलाई दबाब दिएको जानकारी हामीलाई आएको छ। यसको खिलापमा उभिन्छौँ।’
