देउवा कांग्रेसको निर्वाचन आयोगलाई धम्की, गगन-विश्वको शालीन तर्क
काठमाडौं । पार्टी आधिकरिकताको विषयलाई लिएर नेपाली काँग्रेसका दुबै पक्षका नेता कार्यकर्ताहरुले निर्वाचन आयोग बहादुर भवन बहिर गेटमा नाराबाजी गरेका छन् ।
निर्वाचन आयोगले आज गगनकुमार थापा र सभापति शेरबहादुर देउवा काँग्रेसका दुवै पक्ष बोलाएर छलफल गरेको थियो । छलफल सकिएपछि दुवै पक्षका नेता कार्यर्ताहरुलाई निर्वाचन आयोग गेटमा पुगेर धर्ना एवम् नाराजुलुस गरेका हुन् । दुवै पक्षले आफुहरु आधिकारिक काँग्रेस भएको दावी गर्दै आएका छन् ।
यसैबीच नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनको नाममा भएको भेला अबैध भएको भन्दै काँग्रेस विभाजन नभएको दावी गर्नुभएको छ ।
आज पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक सभापति खड्काले काँग्रेसको आधिकारिकताको विषयमा कुनै विवाद नभएको र १४औँ महाधिवेशनबाट निर्वाचित शेरवहादुर देउवा नेतृत्वको कार्यसमिति मात्र आधिकारिक भएको दावी गर्नुभयो ।
उहाँले कथमकदाचित काँग्रेसलाई कमजोर पार्न पार्टी विभाजनको नाममा नेपाली काँग्रेसको आधिकारिकता आफूहरुले नपाए देशैभर शशक्त आन्दोलन गर्ने चेतावनी पनि दिनुभयो ।
नेता खड्काले निर्वाचन आयोगमा आफूहरुले पार्टीको सबै विषय जानकारी गराएको र देउवा नेतृत्वको काँग्रेस बाहेक अन्य कसैलाई पनि काँग्रेसको आधिकारिता दिन नमिल्ने स्पष्ट पारिसकेको उल्लेख गर्नुभयो ।
नेपाली काँग्रेसले विशेष महाधिवेशनमार्फत गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेसँगै पार्टीभित्रको विवाद चुलिएको हो ।
काँग्रेसका बहुमत महाधिवेशनको हस्ताक्षरसहित बिशेष महाधिवेशन सम्पन्न भएको भन्दै थापा पक्षले हिजो नै निर्वाचन आयोगमा आफुहरु आधिकारिक भएको पत्र दर्ता गराइसकेको छ ।
गगन थापा सभापति भएको काँग्रेस र शेरबहादुर देउवा सभापति भएको काँग्रेसको अलग-अलग पत्र निर्वाचन आयोगमा दर्ता भएपछि काँग्रेसको आधिकारिकताको विषयमा निर्वाचन आयोगले निर्णय गर्नुपर्ने अवस्था आएको छ। निर्वाचन आयोगले छिट्टै विधि र पद्धतिको आधारमा काँग्रेसको विवाद किनारा लगाउने जानकारी दिएको छ ।
गगन थापा नेतृत्वको नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली काँग्रेस विभाजन नभएको बताएका छन् । आधिकारिकता सम्बन्धी जानकारी दिनका लागी शुक्रवार निर्वाचन आयोगमा पुगेका शर्माले काँग्रेस एकीकृत रहेको बताए । उनले काँग्रेसको विधानअनुसार विशेष महाधिवेशनले नेतृत्व परिवर्तन मात्रै गरेको दाबी गरे ।
विशेष महाविधशनले गरेको निर्णय अनुरूप आयोगले अद्यावधिक गर्नुपर्ने उनको भनाई छ । उनले काँग्रेसको विवादमा आयोगले राजनीतिक दल विभाजन सम्बन्धी कुनैपनि कानुन आकर्षित नहुने उल्लेख गरे ।
विशेष महाधिवेशन प्रतिनिधिहरूले गरेको महाधिवेशन नै वैधानिक र लोकतान्त्रिक प्रक्रिया भएको उनको भनाई छ । उनले विशेष महाधिवेशनले गरेको निर्णयलाई भ्रमपूर्ण प्रचार गरी पार्टी विभाजन गरिएको भनिएको आरोप पनि लगाए ।
उनले निर्वाचन आयोगलाई नै प्रभावमा पार्नेगरी आफूहरू पक्षको निर्णय नआए आन्दोलन गर्ने चेतावनी दिन गैरराजनितिक चरित्र भएको बताए । आयोगले निष्पक्ष रूपमा निर्णय गर्ने उनको विश्वास छ । उनले विधानअनुरूप नै महामन्त्रीको हैसियतले आफूहरूको विशेष महाधिवेशन गरेको बताए ।
उनले भने ‘यो अहिले भएको प्रक्रियालाई नै लोकतन्त्र माथिको षड्यन्त्रको संज्ञा दिँदै गरेको देख्दाखेरि दुख व्यक्त गर्न चाहन्छु । किनभने विशेष महाधिवेशन भुईँ तहका सदस्यहरूको, प्रतिनिधिहरूको सार्थक, वैधानिक र लोकतान्त्रिक प्रक्रिया हो । यसमा अलिकति भ्रम परेको जस्तो लाग्यो । यसलाई स्पष्ट गर्न चाहन्छु । किनभने केही बेर अगाडी पार्टी केन्द्रीय समितिको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दैगर्दापनि निर्वाचन आयोगले हाम्रो पक्षमा निर्णय गरेन भने देशभर आन्दोलन गर्छौँ भन्ने प्रकृतिको अभिव्यक्ति आएको छ । निर्वाचन आयोगले विधिसम्मत ढंगले नै निर्णय गर्दछ । विधिमा विश्वास गर्ने नेपाली काँग्रेस पार्टीले यसप्रति भरोसा गर्नुपर्छ । त्यो भ्रमका साथ आयो कि भन्ने लाग्छ, दल विभाजन भयो । दल विभाजन भइसकेपछि दाबी गर्न जानुपर्छ भन्ने लागेजस्तो लाग्यो । यद्यपि यो विभाजन भएको होइन । पार्टीको विधिसंवत प्रक्रियाबाट भएको विशेष महाधिवेशन हो । त्यसैले यसमा दल विभाजन सम्बन्धी कुनैपनि दफाहरू आकर्षित हुँदैन । हामीले विधिसंवत प्रक्रियाले विशेष महाधिवेशन गरेका छौँ । विशेष महाधिवेशनले केही नीतिगत निर्णय गरेको छ । नेतृत्व परिवर्तन गरेको छ । त्यसलाई अद्यावधिक गर्नको लागी मात्रै हामी निर्वाचन आयोग आएका हौँ ।’
उनले विधानअनुसार नै विशेष महाधिवेशनको माग तत्कालीन कार्यबहाक सभापति पूर्णबहादुर खड्कालाई बुझाएको स्मरण समेत गरे । नियमित महाधिवेशन गरेको भए मात्रै विशेष महाधिवेशनको औचित्य सकिएको हुने उनको भनाई छ । नियमित अधिवेशन नभएपछि विशेष अधिवेशनको आह्वान आफूहरूले गरेको उनले बताए ।
