डा. शेखरले गगनलाई भने, “केही चोइटिएर गए होलान्”
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले निर्वाचन आयोगमा पुगेर सिंगो केन्द्रीय समिति अहिले निर्वाचन आयोग आएको बताउँदै आधिकारिक आफूहरू नै रहेको बताएका छन्।
आज शुक्रबार निर्वाचन आयोगमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित पुगेका नेता कोइरालाले आयोगका पदाधिकारीहरूसँग भने, ‘सिंगो केन्द्रीय समिति र सदस्य यहाँ छन्, केही चोइटिएर गए होलान्।’ कोइरालाले विशेष महाधिवेशनका पक्षमा गरिएका हस्ताक्षर फिर्ताको निस्सा आफूहरूसँग रहेको पनि बताए।
विशेष महाधिवेशनका लागि गरिएको हस्ताक्षर फिर्ता भएको निस्सा हामीसँग छ,’ कोइरालाले भने। उनले निर्वाचन आयोगलाई व्यक्तिभन्दा पनि संस्था हेर्न आग्रह गरेका थिए। त्यसपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको दाबी गरेका थिए। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले असोज २९ गते खड्कालाई विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गरेका थिए।
विशेष महाधिवेशनको माग गर्दै परेको निवेदनको औचित्य समाप्त : खड्का
नेपाली कांग्रेसको देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नियमित महाधिवेशनको मिति तोकिएकै दिन विशेष महाधिवेशनको माग गर्दै परेको निवेदनको औचित्य समाप्त भइसकेको दाबी गरेका छन्। उनले विशेष महाधिवेशन माग गर्ने पक्षधरकै सहमति र सहभागितामा केन्द्रीय कार्यसमितिले निर्णय गरेर नियमित महाधिवेशनतर्फ पार्टी अघि बढेको बताए।
निर्वाचन आयोगको शुक्रबार ध्यानाकर्षण गराउँदै खड्काले भने, ‘पार्टीको केन्द्रीय कार्यसमिति बैठकले मंसिर १५ गतेको बैठकबाट नियमित महाधिवेशनको मिति तोकेको थियो। त्यहाँ विशेष महाधिवेशनको मागको निवेदनमाथि छलफल भएरै हामीले महाधिवेशनको मिति तोकेका थियौँ। त्यसकारण नियमित महाधिवेशनको मिति तोकिएकै दिन विशेष महाधिवेशनको मागको औचित्य समाप्त भएको कुरा म निर्वाचन आयोगलाई जानकारी गराउँछु।’
उनले पार्टीको विधानबमोजिम नै कार्यकाल पूरा भएपछि पनि एक वर्षसम्म म्याद थपेर जान सकिने व्यवस्था रहेको बताए। खड्काले पार्टीका निर्णयहरू र दस्तावेजहरू समेत आयोगलाई बुझाउँदै पार्टीको विधान, संविधान र कानुन तथा आयोगबाट विगतमा भएका निर्णयको नजिरहरू समेतका आधारमा निर्णय दिन माग गरे ।
कांग्रेस विवादमा विधिसम्मत निर्णय दिन्छौं : आयोग
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले नेपाली कांग्रेसको आधिकारिकता विवादको सन्दर्भमा आयोगले विधिसम्मत निर्णय दिने बताएका छन् । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका आयोगमा पुगेका नेताहरूसँग शुक्रबार प्रमुख निर्वाचन आयुक्त भण्डारीले आफूहरूले संविधान, ऐन, राजनीतिक दलसम्बन्धी नियमावली र कांग्रेसको विधान तथा नियमावलीका आधारमा मात्रै आफूहरू निर्णयमा पुग्ने बताएका हुन् ।
निर्वाचन आयोगले विधि र पद्धतिभन्दा बाहिर गएर निर्णय गर्दैन,’ कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले भने, ‘संविधान, राजनीतिक दलसम्बन्धी ऐन, नियमावली र कांग्रेसको विधानअनुसार निर्णय गर्छौँ । हाम्रा नजिर र परम्परा पनि हेर्छौँ ।’ गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा काठमाडौंमा पुस अन्तिम साता विशेष महाधिवेशन भएको थियो । विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति नै चयन गरेर अगाडि बढेको छ । तर, देउवा पक्षले उक्त महाधिवेशनलाई अवैधानिक भनेर आयोगको ध्यानाकर्षण गराएको हो ।
गगनलाई आयोगको दुई बजेको निम्तो
निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षलाई छलफलका लागि बोलाएको छ । आयोगले आज दिउँसो २ बजे पदाधिकारी र सदस्यलाई छलफलका लागि बोलाएको हो । कांग्रेसमा दुई पक्षबीच आधिकारिकता विवाद भएपछि आयोगले छलफल अगाडि बढाएर छिटै निर्णय लिने संकेत दिएको छ ।
