नेपाली कांग्रेस दास र लाशको पार्टी होइन : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा कोही मालिक कोही दास नहुने बताएका छन्। विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पार्टी सभापतिदेखि सदस्यसम्म सबैको हैसियत बराबर हुने बताए।
उनले भने, ‘पार्टीको सदस्यहरूले आफ्नो हकको दाबी गरेको हो यो। आजबाट कांग्रेसमा लामो समयदेखि जाम भएर बसेको, पार्टी सञ्चालनको जुन तरिका थियो। त्यो भत्कियो, भोलि जोसुकै आओस्, पार्टीको सदस्यलाई कसैले हेप्न सक्दैन।’
उनले भने, ‘तपाईंहरूले जहाँ लगेर टुङ्ग्याउनुहुन्छ । त्यसमा केही पनि आपत्ति छैन । जति गर्नुभएको छ मेरो लागि ठूलो छ । तपाईंहरूको यो प्रयासले कांग्रेस दास र लाशहरूको पार्टी होइन, जिउँदो मानिसहरूको पार्टी हो । ‘कांग्रेसमा कुनै बा छैन बोल्दै गर्दा नबोल भन्ने ।’
उनले भने, ‘नेपाली कांग्रेसमा ‘बा’ छैनन् । प्रश्न गर्न पाइन्छ । हाम्रो कांग्रेसमा प्रश्न मर्न दिँइदैन ।’ थापाले विशेष महाधिवेशनको बन्द सत्रले जे गर्छ त्यो स्वीकार्न तयार रहेको बताए । थापाले पार्टीभित्र देखिएको वर्तमान अवस्थालाई ‘झगडा’ हाेइन विचारको संघर्ष भएकाे बताए ।
उनले भने, “कतिलाई बाहिरबाट हेर्दा नेपाली कांग्रेसभित्र झगडा भइरहेको जस्तो पनि लागेको होला । तर कुरा त्यो होइन । यो संघर्ष नै हो । तर यो शक्तिको संघर्ष होइन, विचारको संघर्ष हो ।”
कमजोरी दोहोरिन नदिने विश्वप्रकाशको संकल्प
अर्का महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले गरेका कमजोरी र पार्टीभित्र रहेका समस्याको समीक्षा गर्दै आगामी दिनमा त्यस्ता कमजोरी दोहोरिन नदिने संकल्प गर्न विशेष महाधिवेशन आयोजना गरिएको बताएका छन् ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै महामन्त्री शर्माले पुरानै ढंगले नयाँ यात्रा गर्न नसकिने उल्लेख गरे । उनले नयाँ सोच र संकल्प लिएर अघि बढ्नुपर्नेमा जोड दिए । ‘फागुन २१ गतेको निर्वाचनमा कांग्रेसले गरेका कमजोरी र समस्याहरुको पहिचान गरेर आगामी दिनमा त्यस्तो हुन दिँदैनौँ भन्ने संकल्प गरेर जानको लागि हामीले विषेश महाधिवेशन बोलाएका हौँ,’ उनले भने ।
उनले असन्तुष्टि, अस्थिरता र द्वन्द्वको पृष्ठभूमिमा पनि कांग्रेसको नेतृत्वमा मुलुकमा शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा महत्त्वपूर्ण उपलब्धि भएको दाबी गरे । उनले भदौ २३ र २४ गते भएका घटनालाई अलग–अलग रूपमा हेर्नुपर्ने भन्दै अब सद्भाव, सुशासन र समृद्धिको बाटोमा अघि बढ्न जरुरी रहेको बताए । उनले प्रत्यक्ष-अप्रत्यक्ष रुपमा मुलुकलाई सहयोग गरिरहने तर सधैं प्रताडना भोगिरहने वर्गलाई सम्मान गर्न महाधिवेशन आह्वान गरिएको बताए ।
