पुसभित्र विशेष महाधिवेशन हुने गगन थापाको जिकिर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको विधानअनुसार यही पुस मसान्तभित्र विशेष महाधिवेशन हुने बताएका छन् । पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग गर्दै महामन्त्री थापाले यस्तो जिकिर गरेका हुन् ।

केन्द्रीय कार्यसमितिले निर्णय गरेर हुने कि विधानअनुसार पार्टी केन्द्रको आह्वानमा हुन्छ भन्ने कुरा दुई–तीन दिनभित्रै टुङ्गोमा लाग्ने उनको भनाइ छ । पुसभित्र नियमित महाधिवेशन हुन नसकेको अवस्थामा विशेष महाधिवेशन बोलाउन बाध्यकारी भएकाले शुक्रवारको केन्द्रीय कार्यसमिति बैठकमा आफूले फरक मत राखेको उनको भनाइ छ ।

उनले भने ‘अझै केही दिन प्रतीक्षा गर्छौं, पार्टी सभापति, कार्यवाहक सभापतिज्यूहरूले पार्टी विधानको उल्लङ्घन गर्न पाइँदैन भन्ने कुरा उहाँहरू बुझ्नुभएको छ । एक दुई दिनभित्र आएर केन्द्रीय कार्यसम्पादन समितिको बैठक राख्नुभयो र विशेष महाधिवेशन बोलाउनुभयो भने पार्टीका लागि सर्वोत्तम कुरा त्यही नै हुन्छ । हामी पनि त्यही चाहन्छौँ । हामी अनुरोध गर्छौं। यदि पार्टीको जिम्मेवार नेताले विधानको पालना गर्नुभएन भने मैले पार्टी महामन्त्री भएर यो कुरा टुलुटुलु हेरेर बस्न मिल्दैन । बस्न सक्दिनँ । विधानको धारा १७ (२) को पालना मैले गर्छु । विशेष महाधिवेशनको आयोजना गर्छौं । यो पुसभित्रमा काठमाडौंमा नेपाली कांग्रेसको विशेष महाधिवेशनको आयोजना हुन्छ । कसले गर्छ भन्ने कुरा एक दुई दिनभित्रमा प्रस्ट हुन्छ । देशभरिका महाधिवेशन प्रतिनिधि साथीहरूलाई अनुरोध गर्न चाहन्छु, तपाई पुस मसान्तमा काठमाडौंमा आउने कुराको लागि औपचारिक निम्तो केही दिनमा आउँछ । काठमाडौंमा भेट हुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर