दुर्गा प्रसाइँको आन्दोलन गर्ने चेतावनी, प्रधानमन्त्रीद्वारा समय माग
काठमाडौं । नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले जनमत संग्रहबारे निर्णय लिन सरकारले आगामी आइतबारसम्मको समय मागेको बताएका छन् । हिजो बिहीबार सिंहदरबारमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटपछि उनले आइतबारसम्मको अल्टिमेटम दिएका हुन् ।
सरकारले आगामी आइतबारसम्म पनि आफूहरूका माग र जनमत संग्रहबारे निर्णय नलिए आन्दोलन गर्ने चेतावनी दिए । उनले एउटा पक्षलाई रुवाएर अर्को पक्ष निर्वाचनमा जान नपाउने बताए । उनले सरकार जेन-जीका मागहरू त्यत्तिकै राखेर निर्वाचनमा जान नपाउने बताए । उनले सरकारले एउटा पक्षलाई मात्रै बोकेर हिँडिरहेको भन्दै यसको परिणाम राम्रो नहुने चेतावनी दिए ।
उनले भने, ‘मैले गम्भीर तरिकाले कुरा राखेँ, यी मुद्दा देशका हुन् । तपाईंलाई आफ्नो नातिसँग नेपालमै बस्न मन छैन भनेर सोधेँ। उहाँले खै केके भनेर खुई….गर्नुभयो । पूरै थाकेको जस्तो । जेन-जीले खोसेर ल्याइदिएको सरकारमा बस्ने अनि उनीहरूलाई थुन्ने भनेँ । आइतबारसम्मको समय माग्नुभयो । आइतबार सही गरौँ दुई पक्ष बसेर सोमबारको मन्त्रिपरिषद्बाट पास गर्दछौँ । सकेनौँ भने आइतबारको दिन सकेनौँ भन्छौँ भन्नुभएको छ । एउटा पक्षलाई रुवाएर अर्को पक्ष चुनावमा जान पाउँदैन । नेपाल सबैको साझा हो भनेका छौँ । यो तरिकाले यो सरकार जेनजीका माग त्यत्तिकै राखेर चुनावमा जान खोज्यो, नक्कली एउटामात्रै टिमलाई बोकेर चुनावमा जान खोज्यो भने त्यो सफल हुँदैन ।’
संयोजक प्रसाईंले जनमत संग्रह नै अन्तिम विकल्प रहेको बताए । आफूहरुले लोकतन्त्रको अधिक प्रयोग गरेर जनमत संग्रह गर्न आग्रह गरेको बताए ।
