सहमतिको आधारसहित राप्रपा र राप्रपा नेपालबीच एकता

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालबीच एकता भएको छ । आज  ६ बुँदे आधार पत्रमा हस्ताक्षर गर्दै उनीहरू एक भएका छन् । देशमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने उद्देश्यका साथ एकीकरणको निर्णयमा पुगेको जारी विज्ञप्तिमा उल्लेख छ ।

यी हुन् ६ बुँदे सहमति

१) राष्ट्रिय प्रजातन्त्र पार्टीको २०७८ साल मंसिरमा सम्पन्न एकता महाधिवेशनबाट पारित सम्बर्धनवादको वैचारिक दर्शन अन्तर्गत सबै धर्मका बीच समानता र पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन धर्म सापेक्ष हिन्दु अधिराज्य, राजसंस्था सहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीतिको सिद्धान्त एकीकरणपश्चातको मार्ग दर्शन हुनेछ ।

२) राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनबाट पारित विधान पार्टीको विधान हुनेछ । एकीकरण पश्चात् राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाव चिन्ह (हलो) र झण्डा नै कायम हुनेछ ।

३) राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पार्टीको केन्द्रीय अध्यक्ष हुनु हुनेछ ।

४) राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनबाट निर्वाचित भएका तर हाल राप्रपा नेपालमा रहेका केन्द्रीय कार्य समितिका सदस्यहरू एकीकृत पार्टीमा तत्कालीन महाधिवेशन हुँदा कायम रहेको पदमा रहने छन् । सहमतिको आधारमा एकीकृत पार्टीमा राप्रपा नेपालको तर्फबाट पदाधिकारी र सदस्यहरू केन्द्रीय कार्यसमितिमा रहने छन् ।

५) सहमतिको आधारमा राष्ट्रिय प्रजातन्त्र पार्टीको २०७८ मंसिरमा सम्पन्न महाधिवेशन हुँदाका बखत कायम रहेका वडा, गाउँ, नगर र जिल्ला तहका पदाधिकारी सदस्यहरूलाई तत जिल्लामा सम्मानजनक ढंगबाट गर्दै लगिनेछ।

६) राप्रपा नेपालका संयोजित संगठनका पदाधिकारी र सदस्यहरूलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको सम्बन्धित भ्रातृसंगठनहरूमा सम्मानजनक ढंगबाट समायोजन गरिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर