प्रतिनिधिसभा विघटन गर्ने काम असान्दर्भिक : सभामुख घिमिरे
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघीय संसदलाई बन्देज लगाउने प्रयास गरिरहेको आरोप लगाएका छन् । संघीय संसद सचिवालयका दिवसको अवसर पारेर आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले प्रतिनिधिसभाको विघटन गर्ने कामको सान्दर्भिकता नभएको जिकिर समेत गरे ।
सभामुख घिमिरेले सरकारले संसद सचिवालयका कर्मचारीहरुको सेवा, सुविधा र दरबन्दी घटाउने कामप्रति पनि असन्तुष्टि व्यक्त गरे । सरकारले संघीय संसदलाई आफू मातहतको कुनै एउटा शाखाको जस्तो व्यवहार गर्नु उचित नभएको सभामुख घिमिरेको भनाई थियो।
उनले भने, ‘२७ भदौमा गएर संसदलाई नै विघटन गरिएको छ । यसको सोझो सान्दर्भिकता देखिँदैन र छैन । यो संसदीय व्यवस्थामाथिको प्रहार हो । पछिल्लो समय सरकारले संसद र यसको सचिवालयमाथि आर्थिक र प्रशासनिक रुपमा अदृष्य बन्देज लगाउने प्रयास गरिरहेको छ । म सभामुखको हैसियतले स्पष्ट शब्दमा भन्न चाहन्छु–संसदको सरकारको अधिनमा रहने कुनै एउटा शाखा होइन र हुन सक्दैन ।’सभामुख घिमिरेले सरकारले संघीय संसदको सेवा, सुविधा घटाउने निर्णय तत्काल सच्याउनुपर्ने समेत बताए ।
यसैबीच राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सरकारको मुख्य काम निर्वाचन सम्पन्न गर्नु रहेको बताएका छन् । सरकारले सुशासनको विषयलाई जोड दिइरहेका बेला उनले सो आवश्यक्ता औँल्याएका हुन् ।
संघीय संसद् सेवा दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले प्रतिनिधिसभा विघटन भएपछि यो निर्वाचनको आवश्यकता र महत्त्व कति छ भन्ने कुराको अनुभूति सम्बन्धित सबै पक्षलाई भएको पनि स्पष्ट पारे । उनले सो निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित ढंगले सम्पन्न गर्ने काममा संघीय संसद्को भूमिका पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताए ।
