नेपाल सरकार र जेन-जी प्रतिनिधिबीच १० बुँदे सहमति

काठमाडौं ।  नेपाल सरकार र जेन-जी प्रतिनिधिबीच १० बुँदे सहमति भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज साँझ आयोजित समारोहमा प्रधानमन्त्री सुशीला कार्की र जेन-जी पुस्ताका तर्फबाट आन्दोलनमा सहादत प्राप्त र घाइते प्रतिनिधिका तर्फबाट भोजविक्रम थापाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।
सहमतिपछि प्रधानमन्त्री सुशीला कार्कीले सरकार र जेनजी पुस्ताका प्रतिनिधिबीच भएको सम्झौता परिवर्तनका लागि कोसेढुङ्गाका रूपमा खडा रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले अहिले भएको सम्झौतापत्रले भोलिको परिवर्तनलाई निर्देशन गर्ने बताउनुभयो ।
प्रधानमन्त्री कार्कीले भन्नुभयो, “यसले संविधान बनाउन गाइड गर्छ । भविष्यमा रक्तपातको आन्दोलन र विपद् रोक्न प्रयास गर्छ । हामी एउटै पक्ष छौँ । जेनजी मेरा सन्तान हुन् । हामी सबैको एउटै विचार हो युवा शक्तिले सत्ता लिओस् । उनीहरूका विचारअनुसार राज्य चलोस् । हामी सन्तानको भविष्य हेर्न चाहन्छौँ ।”
‘हामी सरकारमा रहेसम्म जेनजी आन्दोलनका शहीद र घाइतेहरूका लागि गरिरहनेछौं। म चाहन्छु, जति पनि युवा शक्तिहरू छन्, उनीहरूले देशमै रोजगार पाउन्, देशमै बसोस्, किनकि उनीहरू देशका कर्णधार हुन्। तर, एउटै डकुमेन्टमा सबैको माग पूरा नहुँदो रहेछ,’ कार्कीले भन्नुभयो। प्रधानमन्त्री कार्कीले आफूलाई युवा पुस्ताले ‘आमा’ मानेकोमा कृतज्ञता व्यक्त गर्नुभयो।
उहाँले जेनजी पुस्ताको आफू आमा भएको र आर्यघाटमा पुग्दा पनि आमा नै रहने बताउनुभयो । ‘यो ऐतिहासिक डकुमेन्ट भोलि राजपत्रमा प्रकाशित हुन्छ। अन्य समयमा भएका सम्झौताहरू जस्तै यो पनि एक बलियो दस्तावेज बन्नेछ,’ कार्कीले भन्नुभयो। उनले सरकारका सचिव, कर्मचारीहरू, सुरक्षा निकायलाई धन्यवाद दिँदै सुदन गुरुङलाई आफ्नो जेठो छोरो भएको बताउनुभयो।
गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा सरकारका मन्त्रीहरू, मुख्यसचिवलगायत उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।
हस्ताक्षर समारोहमा जेनजीबीच हो–हल्ला
हस्ताक्षरलगत्तै केही जेनजीहरूले आपत्ति जनाएका छन् । जेनजी समूहबीच नै सिंहदरबारमा भनाभन भएको छ । केही जेनजी समूहले होहल्ला र विराध गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीले सम्वोधन गरेर हिँडेपछि जेनजी युवायुवतीहरु आपसमा झगडा गरेका हुन् । प्रधानमन्त्रीको सम्वोधन पछि एक युवती राष्ट्रपतिसँग सम्झौता खोइ भएको भन्दै च्याठ्ठिएकी थिइन् । अर्का युवाले केही सिमित व्यक्तिहरुले आन्दोलनलाई हाइज्याक गरेर टालटुले सम्झौता गरेको आरोप लगाए । अन्य केही युवाले पनि सम्झौता नस्वीकार्ने बताएपछि तनाव उत्पन्न भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर