कंग्रेसले प्रतिनिधिसभा पुनर्स्थापनाको रिट आज दर्ता गर्दै

काठमाडौं । विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस पनि प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा आज रिट निवेदन लिएर जाने भएको छ । विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक श्यामकुमार घिमिरे र सचेतक सुशीला थिङले कांग्रेसका तर्फबाट पुनर्स्थापनाको रिट दर्ता गर्ने प्रक्रिया आज सोमबार पूरा हुने बताइएको छ ।

रिट सर्वोच्च अदालतमा पेस गरिएको र सोमबार दर्ता हुने जानकारी अदालत प्रशासनबाट आएको निवेदकका वारेस पूर्वमहान्यायाधिवक्ता खम्बबहादुर खातीले जनाएका छन् । निवेदन संवैधानिक इजलासमा दर्ताका लागि पेस भएको र अध्ययनपछि दर्ता गर्ने वा नगर्ने निर्णय हुनेछ । विघटित प्रतिनिधिसभामा प्रमुख सचेतक घिमिरे, सचेतक थिङसहित निवर्तमान सांसदहरू दीपक खड्का, नागिना यादव, शान्ति विक, जाबेदा खातुन, सीता राणामगर रिट लिएर सर्वोच्च पुगेका हुन् ।

कांग्रेसका निवर्तमान सांसदहरू सर्वोच्चमा रिट निवेदन दिनुभन्दा अघि विघटित प्रतिनिधिसभाको दोस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी एमालेका लगायत सार्वजनिक सरोकारअन्तर्गतका १७ थान रिट दर्ता भएर विचाराधीन छन् । कांग्रेसबाहेकका अरू रिटको पहिलो सुनुवाइ भएको छ । सर्वोच्चले यसअघि दर्ता भएका सबै रिटहरूलाई एकै ठाउँमा राखेर सुनुवाइ गर्ने आदेश गरिसकेको छ ।

भदौ २३ र २४मा भएको जेनजी आन्दोलन र प्रदर्शनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा २७ भदौमा सरकार बनेको थियो । कार्कीले शपथ लिएलगत्तै प्रतिनिधिसभा विघटन सिफारिस गरेकी थिइन् । सो सिफारिसलाई राष्ट्रपति रामचन्द्र पौडेलले सदर गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर