महावीर पुनको दुर्गा प्रसाइँलाई कटाक्ष “तथास्तु !!”
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गरिरहेका ठूला आर्थिक र सामाजिक परिवर्तनका घोषणाहरूलाई तथ्यहीन र अव्यावहारिक भन्दै कडा आलोचना गरेका छन्। पुनले सामाजिक सञ्जालमार्फत प्रसाईंलाई सम्बोधन गर्दै देशको वास्तविक आर्थिक दुर्दशाको चित्रण गरेका हुन्।
शिक्षा मन्त्री भएर पैसाको अभाव हुँदा आफूले धेरै शिक्षकहरूलाई स्थानीय भत्ता र महँगी भत्ता खुवाउन नसकेको बताएका छन्।६ लाख जनतालाई कालो सूचीबाट हटाउने, सेना प्रहरीको तलब महिनाको १ लाख बनाउने र २० लाख रुपैयाँ भन्दा कमको ऋण मिनाहा गरिदिने काम कसरी गरी दिने रहेछन् दुर्गा भाइले? भन्दै प्रश्न गरेका छन्।
यस्तो छ पुनको भनाइ :
कति साह्रै हावा कुरा गरेको हाउ यो दुर्गा भाइले – शिक्षा मन्त्री भएर पैसाको अभावमा मैले धेरै शिक्षकहरूलाई स्थानीय भत्ता र महँगी भत्ता खुवाउन सकेको छैन। छाना नभएर र कक्षा कोठा नभएर सहयोग माग्न आउने विद्यालयहरूलाई खाली हात फर्काउन परेको छ। शिक्षकको अभाव भएर एक जना भए पनि शिक्षक दिन अनुरोध गर्ने स्कुलहरूलाई शिक्षक पठाउने जगेडा बजेट नै छैन।
६ लाख जनतालाई कालो सुची वाट हटाउने, सेना प्रहरीको तलब महिनाको १ लाख बनाउने र २० लाख रुपैयाँ भन्दा कमको ऋण मिनाहा गरिदिने काम कसरी गरी दिने रहेछन् दुर्गा भाइले? त्यसो गर्दा जनताले बैंकमा जम्मा गरेको जनताकै पैसा डुबी हाल्छ नि । धनको देवता कुवेर नै त होइनन् नि यिनी भाइ अनि छापाखानामा किताब छापे जस्तै पैसा छाप्न पाइँदैन भन्ने कुरा सबैलाई थाहा छ होला नि। यस्ता हावा कुरा गरेर जनता झुक्क्याउनु हुन्न दुर्गा भाइ ।
यो भन्दा पहिले रेल ल्याउने, पानी जहाज ल्याउने , १२ वर्षमा नेपाललाई दक्षिण एसियाको एकदमै धनी देश बनाउने र नेपाललाई सिंगापुर बनाउने भन्ने जस्ता हावा कुरा धेरैले गरेका थिए । यस्तो हावादारी कुरा गऱ्यो भने हाँसोको पात्र भइन्छ। कुरा बुझेर तथ्य कुरा गरुम् । तथास्तु !!
