कांग्रेस चुनावमा जाने भएपछि एमाले अप्ठेरोमा
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली संकलन अभियान सकिएलगत्तै विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले चुनावको पक्षमा मुख खोलेको छ ।
आगामी २१ फागुनका लागि घोषित निर्वाचनमा ठूला भनिएका दलहरूले खुलेर निर्वाचनमा भाग लिने घोषणा नगर्दा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता पनि नगर्दा चुनाव हुनेमा संशय देखिँदै आएको थियो ।
केन्द्रीय समिति बैठकबाट कांग्रेसले सुरक्षामा प्रश्न उठाए पनि निर्वाचनमा सहभागी हुने बताएर चुनावी सरकारको तयारीमा एउटा ढाडस थपिदिएको छ ।
जेनजी आन्दोलनको जगमा सरकारबाट अपदस्थ हुन पुगेको अर्को ठूलो दल नेकपा एमाले भने अझै पनि चुनावभन्दा संसद् पुनस्र्थापनाकै पक्षमा देखिन्छ । वडा, पालिका, जिल्ला, प्रदेश हुँदै शनिबार संघीय राजधानीमा शक्ति प्रदर्शन गरेको एमालेले चुनाव भन्दा संसद् पुनस्र्थापना नै पार्टीको बटमलाइन भएको सन्देश दिएको छ ।
यद्यपि एमालेको आन्तरिक तयारी भने चुनाव लक्षित छन् । तर सरकारविरुद्ध आक्रामक देखिँदै आएको एमालेले वर्तमान सरकारले चुनाव गराउनै नसक्ने तर्क गर्दै आएको छ । आफू चुनावबाट कहिल्यै नभाग्ने बताउने एमालेले चुनावमा भाग लिन्न नभनेर राजनीतिक चतुरता देखाउँदै सरकारले चुनाव गराउनै नसक्ने तर्क राख्दै आएको छ ।
एमालेले यसअघि नै संसद् पुनस्र्थापनाका लागि कानुनी र सडक संघर्ष गर्ने निर्णय गरिसकेको छ । शनिबारको सभा सडक संघर्षको निर्णयको प्रतिफल भएको र चाँडै अदालतमा संसद् पुनस्र्थापना र वर्तमान सरकार निर्माणको आधार भत्काउन माग लिएर जाने एमालेको तयारी छ ।
उता विभिन्न ५ दल र ७ राजनीतिक समूह मिलेर पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयोजकत्वमा पुनर्गठन भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले भने चुनावमा भाग लिने घोषणा गर्दै मत माग्नसमेत थालेको छ ।
एमालेले भृकुटीमण्डपमा आमसभा गरिरहेका बेला पार्टी कार्यालय पेरिसडाँडामा जेनजी अभियन्तासहितलाई राखेर सांस्कृतिक कार्यक्रममार्फत नेकपाले आगामी निर्वाचनमा तारा चिन्हमा भोट मागेको छ ।
