आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ। रोहित पौडेलको कप्तानीमा लुम्बिनी मैदानमा उत्रन लागेको हो भने कुशल मल्लको नेतृत्वमा चितवन राइनोजले स्पर्धा गर्दैछ। पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको चितवन गति कायम राख्दै प्लेअफ पुग्ने लक्ष्यमा छ। लुम्बिनी सुखद् सुरूआत गर्न चाहन्छ।
गत संस्करणमा लुम्बिनीले सातमध्ये एक खेलमात्र जितेको थियो। चितवन राइनोज गत संस्करण प्लेअफसम्म पुगेको थियो। गत संस्करणको लिग चरणमा चितवनविरुद्ध लुम्बिनी ३३ रनले विजयी भएको थियो। आज उक्त हारको बदला लिने दाउमा चितवन रहनेछ भने लुम्बिनी अर्काे जित हात पार्ने लक्ष्यमा छ।
सुदूरपश्चिम रोयल्सको काठमान्डु गोर्खाजमाथि रोमाञ्चक जित
यसैगरी हिजो भएको खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमान्डु गोर्खाजमाथि रोमाञ्चक जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बुधबार भएको खेलमा सुदूरपश्चिमले काठमान्डुलाई २९ रनले हरायो । जितका लागि एक सय ४८ रनको मध्यम लक्ष्य पछ्याएको काठमान्डु १६.५ ओभरका सबै विकेटको क्षतिमा एक सय १८ रनमा समेटियो ।
दोस्रो सिजनमा सुखद सुरुवात गरेको सुदुरपश्चिमले पहिलो जितसँगै दुई अङ्क बनाएको छ । दुई खेल खेलेमा पहिलो काठमान्डुको पनि दुई अङ्क छ । यसअघि काठमान्डुले साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराएको थियो । काठमान्डुका लागि आकाश त्रिपाठीले ३४ रन बनाउनुभयो । जोन सिम्पसनले २४, भिम सार्कीले १२ र मिलिन्ड कुमारले ११ र सन्नी पटेलले १० रन बनाउनुभयो ।
