देशका लागि राजा आवश्यक भइसक्यो : शंकर भण्डारी
काठमाडौं । नेपाली कांग्रेसका नेता शंकर भण्डारीले देशका लागि राजा आवश्यक भइरहेको बताएका छन्। मंगलबार एक कार्यक्रममा आफू राजावादी नभए पनि राजा देशको लागि आवश्यक भइसकेको बताए।
उनले भने, ‘म भन्दा माथि मेरो देश छ, त्यसका लागि म जुनसुकै भूमिका निर्वाह गर्न तयार छु। चाहे बलिदान दिन किन नपरोस्। म तयार छु, मैले हलुका रूपमा बोलेको छैन। पछिल्लो समय नेपालको राजनीतिमा कस्तो मान्छे कसरी नेतृत्वमा आउँछन् कसरी नेतृत्वमा ल्याइन्छ भन्ने कुरा हामीले नबुझेको छैन।’

(नेता शंकर भण्डारी)
उनले पद प्राप्तिको लागि अहिले मान्छेले आफ्नो सिद्धान्त समेत त्यागिरहेको टिप्पणी गरे। उनले थपे, ‘म दुःखका साथ भन्छु कांग्रेसभित्र पनि त्यो चरित्र हाबी भएको कारणले आज म बदनाम भएको छु। म भ्रष्टाचारी कांग्रेस भएको छु। मलाई पीडा भएको छ, पशुपतिनाथलाई साक्षी राखेर भन्छु, म भ्रष्टाचारी छु भन्ने कुरा कि मलाई थाहा छ कि भगवान् पशुपतिनाथलाई थाहा छ। तर मेरो घर जलाइएको छ, अब इतिहासमा शंकर भण्डारी भ्रष्टाचारी भएर घर जलाइयो भनेर लेखिएला।’
