एनपीएलबाट ३६ करोड उठाउने लक्ष्य

काठमाडौं ।  दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । भोलि सोमवारदेखि मङ्सिर २७ गतेसम्म हुने प्रतियोगिताको तयारी पूरा भएको क्यानका महासचिव पारस खड्काले आज काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

यसैबीच क्यानले एनपीएलको दोस्रो संस्करणबाट ३५ करोड रुपैयाँभन्दा धेरै आम्दानी हुने अनुमान गरेको छ । प्रायोजकबाट १५ करोड ३० लाख, सहभागी टोलीहरूबाट ९ करोड, ओटीटीबाट ५ करोड ३० लाख र टिकटबाट ८ देखि १२ करोड रुपैयाँसम्म उठ्ने क्यानको अनुमान छ ।

पत्रकार सम्मेलनमा प्रतियोगिताको पुरस्कार रकमसमेत घोषणा भएको छ । यो संस्करणमा पुरस्कार रकममा घटबढ भएको छैन । क्यानका अनुसार विजेता टोलीले १ करोड १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले ५१ लाख, तेस्रो हुनेले २५ लाख र चौथो हुनेले १५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

एनपीएलको उद्घाटन खेलमा भोलि साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाजबीच प्रतिस्पर्धा हुनेछ । प्रतियाेगितामा जनकपुर, काठमाडौं, चितवन राइनाेज, कर्णाली याक्स, विराटनगर किङ्ग्स, पाेखरा एभेन्जर्स, सुदूरपश्चिम राेयल्स र लुम्बिनी लायन्स गरी ८ वटा टाेली सहभागी छन् । यस पटक एनपीएल फ्लडलाइटमा पनि खेलाइनेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर