३५ वर्ष सत्तामा रहेका अनुहारलाई विस्थापन गर्न सुदन किराँतीको आह्वान
काठमाडौं । पूर्वमन्त्री जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानले फागुन २१ मा निर्वाचन गर्नुको विकल्प नरहेको बताएको छ । आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पूर्वमन्त्री सुदन किराँतीले नेपालको संविधान यतिबेला ट्रयाकभन्दा बाहिर रहेको भन्दै ट्रयाकमा फर्काउन निर्वाचनको विकल्प नभएको बताए । लोकतन्त्रमा निर्वाचन बाहेक अर्को उपाय हुन नसक्ने उनको भनाइ छ । आगामी निर्वाचनबाट विगत ३५ वर्ष यता सत्तामा रहेका अनुहारलाई विस्थापन गर्नुपर्ने जरुरी रहेको बताए ।
उनले भने, ‘लोकतन्त्रमा निर्वाचन बाहेक अर्को उपाय हुनै सक्दैन । त्यो निर्वाचनमा एउटै अनुहार विगत ३५ वर्षदेखि एउटै अनुहार म्युजिकल चियरको रूपमा गेम खेलिरहेका अनुहारलाई नेपाली जनतासँग एकताबद्ध भएर बिदा गर्नेछौँ ।’
किराँतीले नेपालमा असमानता, गरिबीको अन्त्य गर्न चाहनेहरूसँग एकता हुने बताए । नेपाली कम्युनिस्ट पार्टीसँग कुनै एकता नहुने उनको दाबी छ । आजको आवश्यकता रूपान्तरण र पुस्तान्तरणको भएको बताए । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले समाजवाद, शहीद लगायतको नाममा आफ्नो स्वार्थपूर्ति गर्ने काम गर्नुभएको आरोप लगाए ।
